दमक/झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि एक महिलाको शव फेला परेको घटनाप्रति अखिल नेपाल महिला संघ झापाले गम्भीर ध्यानाकर्षण जनाएको छ। राष्ट्रिय महिला अधिकार दिवसकै दिन सार्वजनिक भएको उक्त घटनालाई संघले दुःखद, निन्दनीय तथा संवेदनशील विषयका रूपमा टिप्पणी गरेको छ।
संघकी जिल्ला अध्यक्ष लिला ढुंगेल (दाहाल) द्वारा जारी प्रेस विज्ञप्तिमा महिलामाथि बढ्दो हिंसा, हत्या तथा असुरक्षाका घटनाले समाजलाई आतंकित बनाइरहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा राज्यको सुरक्षा संयन्त्र, महिला सुरक्षाको अवस्था तथा समाजमा बढ्दो अपराध प्रवृत्तिमाथि गम्भीर प्रश्न उठेको जनाइएको छ।
संघले घटनाको सत्यतथ्य निष्पक्ष, पारदर्शी र गहिरो अनुसन्धानमार्फत सार्वजनिक गर्न, दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडित परिवारलाई शीघ्र न्याय दिलाउन सरकार र सम्बन्धित निकायसँग माग गरेको छ। साथै प्रमाण लुकाउने वा दोषी उम्काउने कुनै पनि गतिविधि नगर्न सुरक्षा निकायलाई सचेत गराइएको छ।
महिलामाथि हुने हिंसा, विभेद र उत्पीडन अन्त्यका लागि प्रभावकारी सुरक्षा नीति लागू गर्न तथा दण्डहीनताको अन्त्य गर्न संघले सरकारसँग आग्रह गरेको छ।

What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



