झापा । झापाको गौरादह नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ।
बुधबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख छत्रपती सुवेदीले अभियानको ब्यानर पढेर औपचारिक शुभारम्भ गर्नुभएको हो।
कार्यक्रममा सहभागीहरूले ‘म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ, हिंसा भएको देखे प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धतासहितको ब्यानरमा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा नगरप्रमुख सुवेदीले लैङ्गिक हिंसा अन्त्यका लागि जातीय, आर्थिक तथा सामाजिक विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। समाजमा धनी–गरिब, जातीय समुदाय तथा परिवारबीच हुने विभेद र असमान व्यवहार अन्त्य गर्दै सबै नगरवासीले आफ्नो घरपरिवार, समुदाय र कार्यक्षेत्रबाटै हिंसाविरुद्ध भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो। सामाजिक न्याय, समानता र मानवअधिकारको प्रत्याभूति हुन सके मात्रै अभियानको वास्तविक सार्थकता प्राप्त हुने उहाँले बताउनुभयो।
नगर उपप्रमुख जलवर्षा राजवंशी चौधरीले हिंसामुक्त र सभ्य समाज निर्माणका लागि लैङ्गिक हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने १६ दिने अभियानमा मात्र सीमित नभई वर्षभरि नै हिंसाविरुद्धका सचेतनामूलक गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो। अभियानका सन्देशलाई व्यवहारमा कार्यान्वयन गर्न नसके समाजमा हुने हिंसात्मक घटनालाई नियन्त्रण र न्यूनीकरण गर्न कठिन हुने उहाँले उल्लेख गर्नुभयो।
नगर उपप्रमुख चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, गौरादह–२ का वडाध्यक्ष गोपाल कोइरालालगायत जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख, स्थानीय स्काउटका प्रतिनिधि, स्काउट, विद्यार्थी तथा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
अभियानअन्तर्गत नगरपालिकाले वडा नम्बर १, २, ५, ८ र ९ का विभिन्न टोलमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यसैगरी किशोरकिशोरीका लागि लैङ्गिक हिंसासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा मंसिर २४ गते सचेतनामूलक र्यालीसहित अभियानको समापन गर्ने कार्यक्रम तय गरिएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



