लिला ढुंगेल दाहाल
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ। नोभेम्बर २५ महिला विरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस हो। सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिराबल दिदीबहिनीको हत्याको स्मृतिमा सुरु भएको यो अभियानले आज विश्वव्यापी रूपमा महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न एकजुट हुन आह्वान गर्दै आएको छ।
महिला विरुद्धको हिंसा आज पनि विश्वकै गम्भीर सामाजिक चुनौती हो। घरेलु हिंसा, यौन दुर्व्यवहार, दाइजो प्रथा, मानव बेचबिखन, बालविवाह, आर्थिक शोषण तथा पछिल्लो समय बढ्दै गएको डिजिटल हिंसाले महिलाको स्वतन्त्रता, सम्मान र सुरक्षित जीवनमाथि प्रश्न उठाइरहेका छन्।
विश्व स्वास्थ्य संगठनको सन् २०२५ को प्रतिवेदनअनुसार विश्वमा करिब तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा शारीरिक वा यौन हिंसा भोगेका छन्। नेपाल स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षण २०२२ अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका २७ प्रतिशत महिलाले आफ्नो वर्तमान वा पछिल्लो अन्तरङ्ग साथीबाट शारीरिक, यौन वा भावनात्मक हिंसा भोगेका छन्। यी तथ्याङ्कले हाम्रो समाजमा अझै पनि महिला सुरक्षा र समानताको अवस्था सन्तोषजनक नरहेको देखाउँछन्।
नेपालको संविधानले महिलाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ लगायत विभिन्न कानुनले महिलामाथि हुने हिंसालाई दण्डनीय बनाएका छन्। राष्ट्रिय महिला आयोगको ११४५ हेल्पलाइन, प्रहरीको १०० नम्बर तथा स्थानीय तहका महिला तथा बालबालिका शाखाजस्ता संयन्त्र पनि उपलब्ध छन्। तर कानुन र संरचना हुनु मात्र पर्याप्त छैन; तिनको प्रभावकारी कार्यान्वयन र पीडितले सहज रूपमा न्याय पाउने वातावरण आवश्यक छ।
दमक नगरपालिकाको सन्दर्भमा पनि महिला तथा बालिकाको सुरक्षा, आर्थिक आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य र सम्मानजनक जीवन सुनिश्चित गर्नु स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व हो। महिला हिंसाका घटनालाई पारिवारिक वा व्यक्तिगत मामिला भनेर बेवास्ता गर्ने होइन, समयमै पहिचान गर्ने, पीडितलाई संरक्षण र परामर्श उपलब्ध गराउने तथा न्यायका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्नुपर्छ। टोल, वडा र समुदायस्तरमा सचेतना अभियान विस्तार गर्नुका साथै महिलाको आर्थिक सशक्तीकरण र नेतृत्व विकासलाई प्राथमिकता दिन आवश्यक छ।
महिला हिंसा अन्त्य गर्ने जिम्मेवारी सरकारको मात्र होइन। परिवारले छोराछोरीबीच समान व्यवहार गर्नुपर्छ, समाजले पीडितलाई दोष दिने प्रवृत्ति त्याग्नुपर्छ र राजनीतिक तथा सामाजिक संस्थाले महिलाको सम्मान, समानता र नेतृत्वलाई व्यवहारमै स्थापित गर्नुपर्छ। हिंसाविरुद्ध आवाज उठाउने महिलालाई साथ र सुरक्षा दिनु हामी सबैको दायित्व हो।
महिलाको सुरक्षा दया वा उपकारको विषय होइन, यो समान नागरिक अधिकार र मानव मर्यादाको सवाल हो। महिला सुरक्षित, सम्मानित र निर्णय प्रक्रियामा समान रूपमा सहभागी नभएसम्म समतामूलक र समृद्ध समाज निर्माण सम्भव छैन।
आउनुहोस्, महिला हिंसाविरुद्ध मौनता होइन, प्रतिरोध गरौँ। विभेद होइन, समानता रोजौँ। हिंसामुक्त, सुरक्षित र सम्मानित समाज निर्माणका लागि सबै एकजुट बनौँ।
( लेखक: अखिल नेपाल महिला संघ झापा अध्यक्ष हुन )
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



