दमक, झापा – ‘सिक्ने स्कुल’ भनेर चिनिने दमक-५ स्थित सर्वोदय इङ्लिस स्कुलले बिहीबार वार्षिकोत्सव तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित सो कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि दमक शिक्षा शाखा समितिका अध्यक्ष तथा वडा नम्बर ९ का अध्यक्ष कुवेर भट्टराई रहनुभएको थियो भने सर्वोदय बाल क्लबकी उपाध्यक्ष समिका पाच्कोटिले सभापतित्व गर्नुभएको थियो।
समारोहमा दमक वडा नम्बर ५ की वडा सदस्य सरु परियार, साहित्यकार धनकुटे कान्छा, दमक बाल सञ्जालका अध्यक्ष प्रियेश श्रेष्ठ, विद्यालय सञ्चालक समितिका सदस्यहरू, शिक्षक, अभिभावक, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि भट्टराई, विद्यालयका प्रिन्सिपल नवीन योगी, साहित्यकार धनकुटे कान्छा तथा वडा सदस्य परियारले संयुक्त रूपमा विद्यालय परिसरमा नवनिर्मित ‘फुड कर्नर’ को उद्घाटन गर्नुभएको थियो। प्रिन्सिपल योगीका अनुसार, फुड कर्नरले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई स्वास्थ्यवर्द्धक खानाको ज्ञान दिने लक्ष्य राखेको छ।
दमक बाल सञ्जालका अध्यक्ष तथा विद्यालयका पूर्व विद्यार्थी प्रियेश श्रेष्ठले विद्यालयले शिक्षा तथा व्यक्तित्व विकासमा पुर्याएको महत्वपूर्ण योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन, वक्तृत्वकला लगायतका विविध प्रस्तुति दिएका थिए। विद्यालय प्रशासनले नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरू तथा खेलकुद प्रतियोगितामा विजयी हुनेहरूलाई पुरस्कार प्रदान गरेको थियो।
बाल क्लबका अध्यक्ष इशान केरुङले अतिथिहरूलाई स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव श्रीविना राईले गर्नुभएको थियो।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



