दमक /होटल व्यवसायी महासंघ कोशीले इलाम जिल्लामा अविरल वर्षा, बाढी र पहिरोका कारण उत्पन्न गम्भीर संकटप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत तथा सहयोगका लागि सरकारसँग आग्रह गरेको छ।
महासंघद्वारा जारी विज्ञप्तिअनुसार, इलाम प्रवेश गर्ने राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने वैकल्पिक बेलासे–इलाम सडकखण्डको पुल पनि बाढीले बगाएको छ। यसका कारण जिल्लाको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ।
विज्ञप्तिमा विद्युत्, खानेपानी, खाद्यान्न, इन्धन तथा अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएको, अस्पतालसम्म बिरामी पुग्न कठिन भएको तथा पर्यटन र होटल व्यवसायसमेत ठप्प बनेको उल्लेख गरिएको छ।
महासंघले इलामलाई “इलाम संकट” घोषणा गरी राहत तथा सहयोग उपलब्ध गराउन, सडक, विद्युत् र खानेपानी सेवा तत्काल पुनःस्थापना गर्न तथा व्यवसायी र स्थानीय नागरिकलाई आवश्यक राहत प्याकेज उपलब्ध गराउन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा संकट समाधानका लागि सबै पक्षलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गर्दै इलामका व्यवसायी तथा नागरिकसँग महासंघ एकताबद्ध रहेको जनाएको छ।

What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



