झापा/नेपाल कम्युनिष्ट पार्टी एमालेले जनताको बहुदलीय जनवादका प्रणेता तथा तत्कालीन एमाले महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित मदन आश्रितको ३२औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउने भएको छ।
एमालेले स्मृति दिवस मनाउन पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यहरू सम्पादन गर्न निर्देशन गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।एमालेले केन्द्रीयस्तरमा मदन नगर बल्खुमा अहिले बिहान ८ बजे स्मृति कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मदन–आश्रित परिवारका सदस्यहरूलाई निमन्त्रणा गरिएको उहाँले बताउनुभयो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मदन–आश्रित स्मृति दिवसलाई ऐतिहासिक बनाउनुपर्ने बताउँदै त्यसअनुसार तयारी गर्न निर्देशन दिइसक्नुभएको छ। तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितकोे दुर्घटनामा निधन भएको जेठ ३ गते ३२ वर्ष पुगेको छ । उहाँहरूको २०५० जेठ ३ गते दासढुङ्गामा गाडी दुर्घटनामा निधन भएको थियो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



