गौरादह–१ का वडाध्यक्ष भण्डारीद्वारा प्रधानमन्त्रीसमक्ष पूर्वाधार योजना अलपत्र परेको गुनासो

Share

गौरादह /गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले आर्थिक वर्ष ०८२/०८३ अन्तर्गत सञ्चालनमा रहेका विकास योजनाहरू मूल्यवृद्धिका कारण अलपत्र परेको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।
वडाध्यक्ष भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सम्बोधन गर्दै निर्माण सामग्री, इन्धन तथा श्रम लागतमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले काम रोक्ने अवस्था सिर्जना भएको बताएका छन्।
उनका अनुसार चालु आर्थिक वर्षको सुरुआतमा पुरानो दररेटमा ठेक्का लागेका सडक, पुल तथा भवन निर्माणका योजनाहरू फाल्गुण महिनापछि इन्धनमा भएको भारी मूल्यवृद्धिसँगै प्रभावित बनेका हुन्। हालको बजार मूल्यअनुसार काम गर्न नसकिने भन्दै निर्माण व्यवसायीहरूले मूल्य समायोजनको माग गर्दै काम रोकिरहेको उनले उल्लेख गरेका छन्।
“स्थानीय तहले पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायी काम सम्पन्न गर्न तयार छैनन्। मूल्य समायोजन गर्ने अधिकार स्थानीय तहसँग छैन,” वडाध्यक्ष भण्डारीले भने।
उनले सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधन भए पनि मूल्य समायोजनसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा स्थानीय तह अप्ठ्यारोमा परेको बताएका छन्।
गौरादह नगरपालिका–१ मा मात्रै करिब ८ किलोमिटर कालोपत्रे सडक निर्माण कार्य अधुरो अवस्थामा रहेको उल्लेख गर्दै उनले समयमै उचित निकास नआए बजेट फ्रिज हुने खतरा रहेको बताए। पुनः ठेक्का प्रक्रिया अघि बढाउन समेत समय अभाव रहेको उनको भनाइ छ।
वडाध्यक्ष भण्डारीले तल्लो तहका जनप्रतिनिधि दैनिक रूपमा जनताको प्रश्न र गुनासो सामना गर्न बाध्य भएको उल्लेख गर्दै संघीय सरकारले तत्काल व्यावहारिक समाधान ल्याउनुपर्ने माग गरेका छन्।

ताजा समाचार