अध्यक्ष हुकुम सिंह राईद्वारा कमल नगर अस्पतालमा आँखा सेवा शुभारम्भ

Share

दमक/कमल गाउँपालिका अन्तर्गत सञ्चालित कमल नगर अस्पतालमा आँखा सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ। गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आज आयोजित कार्यक्रममा रिबन काटेर सेवाको उद्घाटन गर्नुभएको हो।

ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धताअनुसार अस्पतालमा आजदेखि दैनिक रूपमा आँखा जाँच तथा उपचार सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले जानकारी दिनुभयो। अब स्थानीय नागरिकले सामान्य आँखा परीक्षणदेखि दृष्टिसम्बन्धी समस्या पहिचान तथा प्रारम्भिक उपचार सेवा आफ्नै गाउँपालिकाभित्र सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

२०७९ सालको स्थानीय तह निर्वाचनपछि अध्यक्ष हुकुम सिंह राईको नेतृत्वमा तोपगाछी स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरी बीमा सेवासहितको “कमल नगर अस्पताल” सञ्चालनमा ल्याइएको थियो। त्यसयता अस्पतालले निरन्तर रूपमा सेवा विस्तार गर्दै आएको छ। अध्यक्ष राईको सक्रियता र स्वास्थ्य क्षेत्रप्रतिको विशेष चासोका कारण गाउँमै विशेषज्ञ सेवा थपिँदै गएको स्थानीयवासीको भनाइ छ।

यसअघि दन्त सेवा सञ्चालनमा ल्याइसकेको कमल नगर अस्पतालमा अब आँखा सेवा पनि थपिएसँगै अस्पतालको सेवा दायरा अझ फराकिलो बनेको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिक, ज्येष्ठ नागरिक तथा ग्रामीण भेगका सेवाग्राहीलाई यस सेवाबाट ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

अस्पतालमा दैनिक रूपमा मेची आँखा अस्पताल का प्राविधिकद्वारा आँखा जाँच तथा उपचार सेवा प्रदान गरिने जानकारी दिइएको छ। यस सहकार्यले कमल क्षेत्रका नागरिकलाई विशेषज्ञस्तरको आँखासम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने विश्वास लिइएको छ।
कमल गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै अस्पतालको पूर्वाधार विकास, उपकरण व्यवस्थापन, सेवा विस्तार तथा दक्ष जनशक्ति सुदृढीकरणमा निरन्तर काम गरिरहेको जनाएको छ। स्थानीयवासीका अनुसार अध्यक्ष हुकुम सिंह राईको नेतृत्वमा गाउँपालिकाले “गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा” भन्ने लक्ष्यलाई व्यवहारमै कार्यान्वयन गर्दै अघि बढिरहेको छ।

ताजा समाचार