कोशी लगानी सम्मेलनमा ४६ परियोजमा हस्ताक्षर,१ खर्ब ५२ अर्ब लगानीको प्रतिबद्धता

Share


झापा /कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन– २०२५’को आज समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइराला र लगानीकर्ताहरूबीच सहमतिपत्र सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिसम्बन्धी आठ ऊर्जासम्बन्धी तीन, उद्योगसम्बन्धी १२, पूर्वाधारका नौ, सूचना प्रविधिका दुई, पर्यटनसम्बन्धी १० र फोहरमैला व्यवस्थापनसम्बन्धी दुई वटा परियोजनाका लागि सहमतिपत्रमा सम्झौता सम्पन्न भएको छ ।
निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारीका २७ वटा परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ । प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रदर्शनमा राखी अनुमानित लागत रु एक खर्ब ७३ अर्ब ४९ करोड तोकेको थियो ।
मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनको समापन गर्दै प्रदेशका लागि आज विशेष दिन हुनुका साथै नयाँ युगमा प्रवेश गरेको भन्दै यसका माध्यमबाट नेपालको आर्थिक, पर्यटकीयलगायत क्षेत्रमा सकारात्मक सुरुआत गरिएको बताए ।
उनले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्र र विदेशी लगानी भित्र्याएर आर्थिक वृद्धि, रोजगारीका अवसर सृजना र राष्ट्रिय पुँजीको निर्माण गर्नुपर्ने महसुस गरेअनुसार लगानी सम्मेलनको आयोजना गरिएको जनाउँदै उनले सम्मेलन सफल भएको धारणा राखे । मुख्यमन्त्री कार्कीले लगानीका क्रममा आइपर्ने प्रदेश र सङ्घीय नीतिगत, कानुनीलगायत बाधा हटाउने प्रतिबद्धता व्यक्त गरे ।आन्तरिक मामला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दै लगानीकर्ताको परियोजना २१ दिनभित्रमा सम्झौता सम्पन्न गरिने जानकारी दिए ।
कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा स्वदेशी सहित विभिन्न देशका लगानीकर्ताहरु सहभागी रहेका थिए । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो ।

ताजा समाचार