झापामा एमाले नेतृ अर्यालको उद्घोष : “लाखौँ ताराका लागि एउटै सूर्य काफी”

ताजा समाचार मुख्य समाचार राजनीति

झापा / नेकपा (एमाले) की केन्द्रीय सचिव अर्यालले झापामा आयोजित विशाल जनसभामा एमाले नै मुलुकको स्थिरता र संविधान रक्षाको प्रमुख शक्ति भएको बताउँदै “लाखौँ ताराहरूका लागि एउटै सूर्य काफी छ” भन्ने उद्घोष गर्नुभएको छ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा भएको जनसभालाई सम्बोधन गर्दै अर्यालले झापाले देशको रुपान्तरणमा ऐतिहासिक योगदान दिएको उल्लेख गर्दै फेरि संविधानको रक्षाका लागि झापाली जनता अग्रपंक्तिमा उभिएकोमा खुशी व्यक्त गर्नुभयो।

अर्यालले प्रतिगमनकारी, देशद्रोही र आतंककारी गतिविधिमा संलग्न समूहहरुलाई कानूनको कठघरामा उभ्याइने चेतावनी दिँदै राष्ट्र र जनताको विरुद्ध हुने कुनै पनि गतिविधिमा एमाले चुप नबस्ने दृढता दोहोर्याउनुभयो।

सरकार असंवैधानिक रहेको दाबी गर्दै उहाँले जननिर्वाचित सरकारलाई हटाएर चुनाव गर्ने भनाइ नाटक मात्रै भएको आरोप लगाउनुभयो। “एमाले चुनावका लागि सदैव तयार छ,” नेतृ अर्यालले भन्नुभयो, “तर शान्तिपूर्ण निर्वाचनका लागि वातावरण सुनिश्चित गर्नु आवश्यक छ।”

जनसभाले झापामा एमालेप्रति जनताको बलियो विश्वासलाई पुनः पुष्टि गरेको उल्लेख गर्दै उहाँले विपक्षी दलहरू एकजुट भए पनि एमालेलाई एक्लै सूर्य काफी रहने दाबी गर्नुभयो।

जनसभामा युवा नेता मनोज ताम्लीले राष्ट्रियता र लोकतन्त्रका लागि एमालेकै बलिदान रहेको बताउँदै देशको नेतृत्व पुनः केपी शर्मा ओलीले नै गर्नुपर्ने धारणा राख्नुभयो।

मुक्तिचोकदेखि सुरु भएको जिल्लाभरका हजारौँ कार्यकर्ताको र्‍याली सिटी सेन्टरमा आयोजित सभामा समापन भएको थियो। कार्यक्रम एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शिव ढुंगेलले र सञ्चालन सचिव तुलसी कार्कीले गर्नुभएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *