सतासीधामः संस्कृति, प्रकृति र पर्यटनको त्रिवेणी

ताजा समाचार

राजु पोख्रेल ,झापा
कोशी प्रदेशका विभिन्न स्थानीय तहहरु मध्ये झापाको शिवसताक्षीधाम प्रचुर सम्भावनायुक्त नगरपालिका हो । यहाँ महाभारतकालित इतिहास जोडिएका गन्तव्य देखि प्राकृतिक रुपमा मनोरम स्थानहरु रहेका कारण यो पर्यटकीय क्षेत्र पनि हो ।
यहाँ महाभारतकालित किम्बदन्ती र इतिहास जोडिएका सताक्षीधाम र चिल्लागढधाम रहेका छन् भने प्राकृतिक रुपमा मनोरम दोमुखा क्षेत्र पनि रहेको छ । दोमुखा प्राकृतिक रुपमा मनोरम मात्र छैन हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको कन्काई नदीको किनारमा समेत रहेको छ ।
यहाँका यि पर्यटकीय तथा धार्मिक गन्तव्यहरुको विकास र प्रवद्र्धनमा तिनै तहका सरकारको तर्फबाट विभिन्न पूर्वाधार विकास र प्रवद्र्धनात्मक कार्यहरु समेत हुँदै आएका छन् । हरियाली वन क्षेत्र, धार्मिक आस्था सहितको नदी, धार्मिक तथा सांस्कृतिक गन्तव्यहरुका कारण यो क्षेत्र प्रकृति, पर्यावरण र पर्यटनको त्रिवणी पनि हो ।


आस्था र गन्तव्य
शिवसताक्षी नगरपालिकामा रहेका धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय स्थानहरुका कारण यो आस्था र पर्यटनको गन्तव्य पनि हो । यहाँ रहेका मध्ये सताक्षीधाम सवै भन्दा प्राचिन र आकर्षक गन्तव्यको रुपमा रहेको छ । यो स्थान महाभारत कालीन इतिहाससँग जोडिएको क्षेत्र पनि हो । पूर्व–पश्चिम राजमार्गको झिलझिलेबाट उत्तर चुरेपहाडको फेदमा रहेको यसको प्रचार–प्रसार र भौतिक पूर्वाधारको विकाससँगै धर्मावलम्बी तथा पर्यटकको आगमन वृद्धि हुँदै गएको शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्रा बताउनुहुन्छ । यस क्षेत्रको विकास र प्रवद्र्धनमा तिनै तहका सरकारहरुको प्राथमिकता रहने गरेको उहाँको भनाई छ । संघीयताको कार्यान्वयनसँगै यहाँ तिव्र रुपमा भएको पूर्वाधार विकासले अवलोकनकर्ताहरुको पहुँच समेत सहज भएको छ । यहाँ मुख्य राजमार्गबाट जोड्ने सडक कालोपत्रे भएको छ भने विद्युत सुविधा समेत पुगे पछि वन क्षेत्र विचमा रहेको धाम पनि सुगम बनेको छ ।
विगत ५ वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको सतासीधाममा करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । करिब दश वर्षअघि पण्डित (महाराज) नन्दकिशोर भारद्वजले सानो कुटीमा बसी दुई चार वटा गाईपालन सुरु गरेपछि यहाँ गौशाला समेत निर्माण गरिएको छ ।
तत्कालीन समयको स्मरण गर्दै घनाजङ्गल र बाटोसमेत नहुँदा मानिस धाममा जान डराउने गरेका थिए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यस क्षेत्रको पूर्वाधार विकास, सडकमा गरेको लगानीले धाम क्षेत्र तीर्थस्थल मात्र नभएर धार्मिक पर्यटकीयस्थलमा परिणत शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थोप्राले जानकारी दिए । उनका अनुसार शिवसताक्षीमा अहिले पर्यटकीय पूर्वाधार विकास र विस्तार भइरहेको छ ।
नगर प्रमुख थोप्राले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारमार्फत परेका महत्वपूर्ण योजनाका कारण पनि विकासका धेरै योजना सम्पन्न भएको बताउछन् । नगर क्षेत्रले २ करोड ५० लाख रुपैयाँ लगानीमा मन्दिर क्षेत्र परिसरमा पार्केटिङ टायल्स बिच्छ्याउने र दुवै क्षेत्रमा ड्रेन निर्माण गर्ने काम गरेको छ । सो क्षेत्रमा लक्ष्मी नारायण, सताक्षीमाता, शिवालय, बराह, राम दरबार मन्दिर र द्ववापार ज्योतिलिङलगायतका सुविधासम्पन्न मन्दिर, हरिदेव संस्कृति विद्यालय, सुविधासम्पन्न अतिथिगृह करोडौँ लगानीमा निर्माण भइसकेको सतासीधाम विकास समितिले जनाएको छ । गोल गोवद्र्धन गौशालाका माध्यमबाट भारत, अमेरिका, भुटान, क्यानाडा, अस्ट्रेलियासम्म यस क्षेत्रको प्रचारमा महाराजकै योगदान रहेको उनले बताए ।
नेपालबाट तेस्रो देश पुर्नवास भएर गएका भुटानी शरणार्थी महाराजलाई भेट्न र यस क्षेत्रको दर्शन गर्न आउँदा समेत सहयोग रकम छाडेर जाने गरेको उनले सुनाए । महाराजले नै स्थापना गरेको सतासीधामको गोल गोवद्र्धन गौशालामा हाल ५ सय बढी गाई रहेका छन् । जहाँ स्थानीय ३० जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।
पछिल्लो समय धाम विकासको गतिसँगै धाम सुन्दर, घुम्न र बस्नलायक बनेको देखिन्छ । धाम परिसरमा एक सय आठ तुलसीको मोडसमेत निर्माण गरिएको छ । हाल झिलझिलेबाट धामसम्म जाने साढे चार किलोमिटर सडकमा कालोपत्रे भएको छ । यसैगरी, भारतको तेजपुरबाट किराँती लिम्बु राजाले ८७ जना ऋषीमुनिलाई गुरुको रूपमा लिएर पहाडतर्फ जान लाग्दा पहाडी क्षेत्रको जाडो ठाउँमा पुग्न गाह्रो भएकाले गुरुहरू यसै सतासीधामका गुफामा बसेर देवीको तपस्या गरकाले ऋषीमुनिको नामबाट सतासीधाम नाम रहन गएको पनि बताइन्छ ।


किम्बदन्ती र विश्वास
किम्बदन्ती अनुसार, सतीदेवीका सयवटा आँखाहरू यस स्थानमा खसेका थिए । सत् भनेको सती र अक्षी भनेको आँखा भएकाले सताक्षीदेवीको पुकारामा यो स्थानलाई सताक्षी धाम भन्ने गरिएको छ । यस्तै एक राजाले ८७ जना ऋषिमुनिलाई पहाडतर्फ लिएर आउँदा जाडोले गर्दा उनीहरू यहींको गुफामा बसेर देवीको तपस्या गरे। त्यसैको स्मरणमा यो क्षेत्रलाई सताक्षीधाम नाम दिइएको मान्यता छ ।
महाभारतकालमा पाण्डवहरूले गुप्तवास बस्न यही क्षेत्र रोजेको पाइन्छ । समीको रुखमा शस्त्र लुकाएर उनीहरू सताक्षीदेवीको आराधनामा लीन भए। अर्जुनले आफ्नो गान्ढिव धनु पनि यहीं सुरक्षित राखेका थिए पूराणहरुमा उल्लेख रहेको यस धाम क्षेत्र आचार्य, महाराज नन्दकिशोर भारद्वाज बताउनुहुन्छ । यहाँ पछिल्लो दशक उहाँकै अग्रसरतामा यो क्षेत्रले नयाँ रुप पाएको छ । दस वर्षअघि सानो कुटीबाट सुरु भएको साधनालाई उनले गोलोक गोवद्र्धन गौशालासहित आध्यात्मिक शिक्षा, गाई सेवा र सामाजिक विकासमा परिणत गरे। गौशालामा सात सयभन्दा बढी गाई पालिएका छन् भने ३० जनाले रोजगारी पाएका छन् ।
पछिल्लो समय सताक्षीधाम धार्मिक पर्यटन विकास समितिले ८७ धारा निर्माण गरेको छ । जसले सताक्षीधामको महत्व र धार्मिक दृष्टिकोणमा थप बलपुगेको देखिन्छ । धाम विकास समिति सक्रिय रहँदा सत्संग भवन निर्माणाधिन अवस्थामा रहेको छ भने पुरानो शिव मन्दिरको माथिल्लो जीर्ण अवस्थामा रहेको गजुरसहित मन्दिरलाई पुर्न निर्माण गरी नयाँ स्वरुपमा परिवर्तन गरिएको छ । सताक्षीधाममा लक्ष्मी–नारायण मन्दिर, शिवालय, द्वापार ज्योतिर्लिङ्ग, रुद्राक्षबाट निर्मित ५० फुटको शिवलिङ्ग, राम दरबार, सताक्षीधाम गुरुकुलम संस्कृति विद्यालय, अतिथिगृहहरू, १०८ तुलसी मोड, पाण्डव गुफा, विरेनुन कुण्ड, बौद्ध स्तुपा, माङहिम, आदिले यसको महिमा अझै फैलाएको छ ।
प्राकृतिक रुपमा मनोरम, धार्मिक रुपमा पवित्र दोमुखा
यहाँ रहेको अर्को प्रमुख पर्यटकीय गन्तव्यको रुपमा दोमुखा क्षेत्र रहेको छ । यो प्राकृतिक रुपमा मनोरम मात्र नभई कन्काई नदीको तटमा रहेका कारण धार्मिक रुपमा समेत पवित्र मानिन्छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित यो क्षेत्र धार्मिक मात्र नभई मनोरञ्जनात्मक पर्यटकीय क्षेत्रको रुपमा समेत रहेको छ । महेन्द्र राजमार्गको माइधारबाट उत्तर करिब ३ किलोमिटर दुरीमा रहेको यो स्थल दशकौं अघि देखि पूर्वी नेपालको प्रमुख वनभोज स्थलका रुपमा रहेको रहेको छ ।
दोमुखा पर्यटकीय स्थलका रुपमा मात्र होइन । फलफुल तथा कृषी उत्पादन तथा धार्मीक हिसावले पनि उत्तिकै महत्वपुर्ण रहेको छ ।
वि.सं. २०३३ सालमा कोरीयाली सरकारले निर्माण गरेको कन्काई सिचाई प्रणालीको हेडबक्सबाट नहर सञ्चालन गरेपछि दोमुखाले पर्यटकीय क्षेत्रको रुपमा आफ्नो परिचय बनाएको हो । तर यसको प्रवद्र्धनमा नगरपालिकाले प्राथमिकताका साथ पूर्वाधार विकास गर्दै आएको नगरप्रमुख थोप्रा बताउनुहुन्छ । नगरकै अग्रसरतामा यहाँ पुग्ने सडकलाई कालोपत्रे समेत गरिएको छ । योसँगै यहाँ पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको विहार तथा बंगालबाट आउने अवलोकनकर्ताहरुको संख्या समेत बढ्दै गएको छ ।
पर्यटकीय तथा धार्मिक धरोहरः चिल्लागढधाम
झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ९ अवस्थित चिल्लागढधाम पछिल्लो समय पूर्वी नेपालको एक महत्वपूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत संगम चौकबाट दक्षिण करिब २.५ किलोमिटर दूरीमा, कनकाई माई नदीको किनारमा अवस्थित प्राकृतिक सुन्दरता, धार्मिक आस्था, ऐतिहासिक किंवदन्ती र सांस्कृतिक महत्वले भरिपूर्ण यस क्षेत्रले झापाबासी मात्र होइन, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा अन्तर्राष्ट्रिय समुदायसम्मको ध्यान आकर्षित गर्न थालेको छ ।
स्थानीय जनविश्वास अनुसार द्वापर युगमा विराट राजाले आफ्ना गाईवस्तुलाई पानी खुवाउन खनेको पोखरी नै आजको “चिल्लागढ पोखरी” हो । यस पोखरीसँग महाभारतकालीन इतिहास जोडिएको बताइन्छ । किराँत समुदायले समेत यस स्थानलाई पवित्र धार्मिक स्थलको रूपमा मान्दै पूजाआजा गर्ने परम्परा कायम राखेका छन् ।
करिब एक विगाहा क्षेत्रफलमा फैलिएको चारकुने पोखरी वरिपरि ६ देखि ७ फिट अग्लो माटोको घेरा उठाइएको छ, जसले किल्लाको स्वरूप दिएको देखिन्छ । यस कारणले यस क्षेत्रलाई “चिल्लागढ” नामले चिनिएको स्थानीयहरू बताउँछन् ।
चिल्लागढ धाम धार्मिक सहिष्णुता, आध्यात्मिक शान्ति र सांस्कृतिक आस्थाको केन्द्रको रूपमा परिचित छ । यहाँ मङ्सिर पूर्णिमामा उधौली र बैशाख पूर्णिमामा उभौली पर्व विशेष रूपमा मनाइने गरिन्छ । किराँत, हिन्दु लगायत विभिन्न समुदायका श्रद्धालुहरू यहाँ पूजा, ध्यान तथा धार्मिक अनुष्ठानका लागि आउने गर्दछन् ।
जनविश्वास अनुसार पाँच हजार वर्षअघि पाँच पाण्डवहरूले हजारौँ ब्राह्मण पण्डितको सहभागितामा यही क्षेत्रमा विशाल यज्ञ सम्पन्न गरेका थिए । यही कारण यहाँ विश्वकै ठूलो बेदी र यज्ञकुण्ड रहेको दाबी गरिन्छ । चारधामको दर्शन गरेपछि पनि श्री चिल्लागढ धामको दर्शन नगरे तीर्थयात्रा अपूर्ण हुने किंवदन्ती स्थानीय समाजमा प्रचलित छ । श्री चिल्लागढ धामको दर्शनले मात्र पनि चारधाम दर्शन बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
यस क्षेत्रमा प्राकृतिक शिवलिङ्ग, विशाल बेदी, यज्ञकुण्ड, किराँत माङ्हिम मन्दिर, शिवालय मन्दिर, भगवती मन्दिर तथा दुर्गा देवी मन्दिर रहेका छन् । प्रदेश र स्थानीय सरकारले पछिल्लो समय पुरानो पोखरीलाई व्यवस्थित गर्दै नयाँ ढंगबाट विकास गरेको पाइन्छ । धाम परिसरभित्र पर्यटकहरुलाई हिड्का लागि पार्केटिङ टायन्यस विच्याएको छ । त्यस्तै विभिन्न दृश्याओलकन गर्नका निमित्त नयाँ संरचनाहरु निर्माण गरिएको पाइन्छ । चिल्लागढ धार्मिक तथा पर्यटकीय विकास संस्था र शिवसताक्षी नगरपालिकाले प्रयासले पछिल्लो समय चिल्लाढधाममा नयाँ ढंगबाट विकास गरिएको छ ।


धमाधम निर्माण हुदै पूर्वाधार
शिवसताक्षी ११ को दोमुखा अहिले स्वदेशी र विदेशी पयर्टकको गन्तव्य स्थल बन्दै गएको छ । दोमुखा पर्यटकीय स्थलसँगै ऐतिहासिक धार्मिक तिर्थ स्थल सताक्षी धाम, चिल्लागढ धाम, माईधार (कन्काई माई धाम) तिर्थस्थल, सताक्षी धाम स्थित गोलोक गोवर्धन गौशाला, अग्लो शिवलिङ्ग, किराँत माङ हिम मन्दिर, मठ मन्दिर, गुम्वा,पोखरी ,सिमसार क्षेत्र तथा हरियाली वन सम्पदाले सजिएको छ । ति सम्पत्तिहरु नगरपालिकाको आकर्षक र रमणीय स्थलका रुपमा स्थापित भइरहेका छन् । कोशी प्रदेश सरकारले पर्यटन घोषणासँगै आन्तरिक पर्यटकीय क्षेत्रलाई थप मद्दत पुगेको छ ।
धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरिक र वाह्य पर्यटक आगमनलाई बृद्धि गर्ने उद्धेश्यका साथ भौतिक पूर्वाधार निर्माणमा लगायतका क्षेत्रमा सहयोग तथा साझेदारी गर्दै आएको शिवसताक्षी नगरपालिकाको प्राविधिक शाखाका इन्जिनियर उत्तम बरालले जानकारी दिए । झापाको शिवसताक्षी नगरपालिकाले वडा नं. ११ मै सतासीधामको अधुरो पाकशाला भवन निर्माण, तेमेनलुम किराँत माङहिम,पराशर क्रषी मक्ष्यगन्धा देवीको मुर्ति सहितको डुङगा र मन्दिर निर्माण, सताक्षीधाम गौशालामा प्राङ्गरिक मल उत्पादनसँगै पूर्वाधार निर्माणमा नगरपालिकाले आर्थिक सहयोग गरेको प्राविधिक शाखाका असिसेन्ट सव इन्जिनियर राम कुमार खतिवडाले जानकारी दिए ।
वडा नं. ११ मा सनातन धर्मालम्वी प्राकृति र आध्यामिक आनन्दको मुख्य थलो वा तिर्थस्थल सताक्षी धाम रहेको छ । सो तिर्थस्थलको सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिको अधुरो कार्यालय भवन अर्थात पाकशाला (खाना पकाउने ठाउँ) निर्माण जेठ मसान्तमा सकिने नगरपालिकाको प्राविधिक शाखाले जनाएको छ ।
पाकशाला निर्माणको लागि शिवसताक्षी नगरपालिकाको १० लाख रुपैया र उपभोक्ता समितिको ५५ हजार २ सय ८८ रुपैयाँ जम्मा गरी १० लाख ५५ हजार २ सय ८८ रुपैयाँ लगानीमा निर्माण सकिएको सतासीधानम विकास समितिका अध्यक्ष तुलाराम बोखिमले जनाएका न् । पाकशालाको रंगरोकन भइरहेको छ । सतासीधाम परिसरमा किराँत समुदायको तेमेनलुम किरात माङहिम (मन्दिर), नेपाल माझी उत्थान संघ झापाले पराशर क्रषी मक्ष्यगन्धा देवीको मुर्ति सहितको डुङगा र मन्दिर निर्माण सम्पन्न गरी सकेको छ । एउटै परिसरमा माङ र शिवको मन्दिरको भवन निर्माण सनातन धर्मालम्वी हिन्दु र किराँत धर्म बीचको धार्मिक सहिष्णुताको परिचय हो ।
तेमेनलुम किराँत माङहिमको पिलर तयार भइसकेको छ । एक तल्ला ढलाइ जेठ मसान्तसम्म सकिने मन्दिर निर्माण समिति अध्यक्ष अर्जुन लावतीले बताउनुभयो । मन्दिर निर्माण स्थलमा भेटिनु भएका अध्यक्ष लावतीले भन्नुभयो, ३ तल्लाको माङहिम बनाउने योजना हो । अरु बाँकी २ तल्ला निर्माण पुरा गर्ने बजेट निरन्तर दिनुहोला । सताक्षीधाममा शिव पार्वती विश्राम स्थल,विरेनुन (औषधी) पानी, तातोपानी, सहस्र गौधारा, नाग गुफा हेर्न लायक सम्पदाहरु रहेको सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समिति शिवसताक्षीका सचिव काली प्रसाद रिजालले जानकारी दिए ।
झिलझिले बजारबाट ५ किलोमिटर उत्तर चुरे पहाडको फेदीमा इलामको सिमानासँग जोडिएको यस स्थानमा रहेको प्राकृति मुर्तिका स्वरुपहरु, भित्तामा रहेका गाईका थुन आकार प्रतिकहरु, सताक्षी खोलाको एक स्थानमा बीचभागमा लगभग २० वर्ग मिटर भित्र मात्र निस्कने गन्धक पानी, फेदीमा रहेका अन्य मुर्तिहरुले यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले र मान्चकारी रहेको छ ।
यहाँ जाने भक्तजनहरु आफनो मनोकाक्षा पुरा हुने विश्वासले पुजाआराधन गर्दछन् । सताक्षीधाममा द्रौपदी तलाउ, शिव झरना, आकाश गंगा र पाण्डप बगैचा रहेका छन् । किराँत समुदायको तेमेनलुम किरात माङहिम (मन्दिर) देखि अलिकति उत्तरमा,नेपाल माझी उत्थान संघ झापाले पराशर क्रषी मक्ष्यगन्धा देवीको मुर्ति सहितको डुङगा र मन्दिरभित्र पोखरी पनि निर्माण सम्पन्न गरी सकेको बुझिएको छ । यस संरचना निर्माणको लागि नगरको ५ लाख रुपैयाँ लगानी भएको नगरपालिकाले जनाएको छ ।
सनातन धर्मालम्वीहरुको लागि आर्कषक स्थल सताक्षीधाम स्थित गोलोक गोवर्धन गौशाला क्षेत्रमा बनाएकोे सवा करोड रुद्राक्ष दाना जडित ५१ फिट अग्लोे शिवलिङ्ग छ । यो शिवलिङ्गको लागि मुलुकका ५१ वटा जिल्लाबाट रुद्राक्ष दाना सङ्कलन गरिएको थियो । ५१ दिनमा निर्माण सम्पन्न भएको हो । यो शिवलिङ्ग १ सय५१ जनाले निर्माण गरेको बताइएको छ ।
सतासी धामको गोलोक गोवर्धन गौशाला क्षेत्रमा गौशालामा रहेका गाईको मुत्रसहितको गोबर प्रयोग गरी प्राङ्गरिक मल उत्पादन गर्नका लागि पूर्वाधार तयार रहेको छ । कोशी प्रदेश सरकारको ३० लाख रुपैया सशर्त अनुदानबाट सो पक्की भवन निर्माण भएको हो ।
इलाम हँुदै झापा भएर बग्ने कनकाई नदीको पश्चिम क्षेत्रमा चुरे पहाडको फेदको काखमा दोमुखा पर्यटकीय स्थल रहेको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं.१० मा रहेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास ब्यवस्थापन संस्थाको क्षेत्रभित्र सुबिधा सम्पन्न वनभोजस्थल, बालउद्यान, बहुसांस्कृतिक संग्रहालय पार्क, स्वीमिङ पुल, पुजा स्नान स्थल, बैष्णुेदेवी मन्दिर, राष्ट्रिय विभूति तथा किराँत धर्मका संस्थापक फाल्गुनन्दको शालिक ,पर्यटन कायालय, झोलुङ्गे पुल, बुद्ध पार्क, फोटो खिच्ने स्थल, पर्यटन प्रहरी विट, बलि पुजा गर्ने स्थान र होटल लजहरू रहेका छन् । नगरपालिकाले पूर्वाधार विकासमा सहयोग गरेपछि यहाँको धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकासमा ठुलो सहयोग पुगेको छ । पूर्व पश्चिम राजमार्ग (एसियन हाइवे) माईधार चोकदेखि दोमुखासम्म सडक कालोपत्रे भइ सकेको छ । ३ किलोमिटर २ सय मिटर सडक कालोपत्रे ४ करोड २४ लाख ८३ हजारको लगानीमा निर्माण सम्पन्न भएको हो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *