अस्मिता साँखी, झापा
‘पहिले यस्ता कुरा कसैलाई भन्न सक्दिनथेँ, अहिले नर्स दिदीसँग खुलेर कुरा गर्न सक्छु।’
झापाको बिर्तामोडस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत किशोरी एरिका यादवको यो भनाइ केवल व्यक्तिगत अनुभव होइन, विद्यालय नर्स कार्यक्रमले ल्याएको सामाजिक परिवर्तनको संकेत पनि हो। किशोरावस्थासँग जोडिएका स्वास्थ्य, सरसफाइ र मानसिक अवस्थाका विषयमा खुलेर कुरा गर्न नसक्ने धेरै विद्यार्थीका लागि विद्यालय नर्स आज भरोसाको केन्द्र बनेका छन्।
नेपालका सामुदायिक विद्यालयहरूमा केही वर्षअघिसम्म स्वास्थ्य सेवा भनेको सामान्य प्राथमिक उपचार वा स्वास्थ्य चौकीमा पुगेर सेवा लिनु मात्र थियो। विद्यालयभित्रै स्वास्थ्य परामर्श, उपचार र सचेतना कार्यक्रम सञ्चालन हुने कल्पना धेरैका लागि असम्भवजस्तै थियो। तर अहिले अवस्था फेरिएको छ। विद्यालयमा नर्सको उपस्थिति केवल स्वास्थ्य सेवा प्रदान गर्ने काममा सीमित छैन, यसले विद्यार्थीको आत्मविश्वास, व्यवहार, सरसफाइ र जीवनशैलीमा समेत सकारात्मक परिवर्तन ल्याइरहेको छ।

स्वास्थ्य कक्षबाट सुरु हुने दिन
बिर्तामोडको महेन्द्र रत्न माध्यमिक विद्यालयमा बिहान विद्यालय सुरु हुनासाथ स्वास्थ्य कक्ष खुल्छ। त्यहाँ आउने विद्यार्थीका समस्या फरक–फरक हुन्छन्। कसैलाई टाउको दुखेको हुन्छ, कसैलाई पेट दुखेको। कोही सामान्य चोटपटक बोकेर आउँछन् भने कोही मनमा अनेक जिज्ञासा लिएर।
विद्यालय नर्स समिक्षा चुडाल भन्छिन्, “धेरै विद्यार्थी स्वास्थ्य समस्याभन्दा पनि परामर्श खोज्दै आउँछन्। उनीहरूलाई कसैसँग खुलेर कुरा गर्न मन लागिरहेको हुन्छ।”
विद्यालयमा आउने विद्यार्थीका समस्या शारीरिक मात्र हुँदैनन्। किशोरावस्थाका परिवर्तन, मानसिक तनाव, आत्मविश्वासको कमी, साथीभाइसँगको सम्बन्ध, पारिवारिक समस्या लगायतका विषय पनि उनीहरूले नर्ससँग साझा गर्ने गरेका छन्।
एक समय यस्तो थियो, जब किशोरीहरू महिनावारीका विषयमा बोल्न पनि लाज मान्थे। आज तिनै विद्यार्थी विद्यालय नर्सको कक्षमा पुगेर सहज रूपमा आफ्ना समस्या राख्न थालेका छन्। यही परिवर्तन विद्यालय नर्स कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ।
उपचारभन्दा ठूलो सेवा
दमकस्थित हिमालय माध्यमिक विद्यालयमा कार्यरत नर्स लिलामाया विकको अनुभव पनि उस्तै छ। उनी दैनिक दर्जनौँ विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कमा रहन्छिन्।
उनका अनुसार विद्यालयमा आउने सबै विद्यार्थीलाई औषधि आवश्यक पर्दैन। कतिपयलाई केवल सुन्ने मान्छे चाहिएको हुन्छ। कसैलाई हौसला, कसैलाई सल्लाह र कसैलाई आत्मविश्वास।
“कहिलेकाहीँ विद्यार्थीहरू रोइरहेका हुन्छन्। उनीहरूको समस्या स्वास्थ्यसँग भन्दा बढी भावनात्मक हुन्छ। त्यस्तो बेला हामी स्वास्थ्यकर्मी मात्र होइन, अभिभावकजस्तै बन्नुपर्छ,” उनी भन्छिन्।
विद्यालय नर्स कार्यक्रमको यही पक्षले यसलाई परम्परागत स्वास्थ्य सेवाभन्दा फरक बनाएको छ। यहाँ उपचारसँगै परामर्श, संरक्षण र मनोवैज्ञानिक सहयोग पनि जोडिएको छ।
किशोरी स्वास्थ्यमा देखिएको परिवर्तन
नेपालमा किशोरी स्वास्थ्य लामो समयदेखि चुनौतीको विषय रहँदै आएको छ। महिनावारीसम्बन्धी गलत धारणा, सरसफाइको अभाव, पोषण समस्या र स्वास्थ्यबारे अपर्याप्त जानकारीका कारण धेरै किशोरी प्रभावित हुने गरेका छन्।
विद्यालय नर्स कार्यक्रम लागू भएपछि भने यस क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ। विद्यालयमा नियमित स्वास्थ्य शिक्षा, स्यानिटरी प्याडको उपलब्धता, सरसफाइबारे सचेतना र व्यक्तिगत परामर्शले किशोरीहरूलाई धेरै सहज बनाएको छ।
किशोरीहरूमा देखिने रक्तअल्पता, पोषण समस्या र सरसफाइसँग सम्बन्धित जोखिम कम गर्न विद्यालय नर्सहरूले महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरूले नियमित रूपमा आयरन तथा फोलिक एसिड सेवन, पोषणयुक्त खानाको महत्व र व्यक्तिगत सरसफाइका विषयमा जानकारी दिइरहेका छन्।

विद्यार्थी स्वयं स्वास्थ्यका अभियन्ता
कमल गाउँपालिकाको मंगलमय माध्यमिक विद्यालयमा ‘हेल्थ मोनिटर’ कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई स्वास्थ्य सेवाका सहयोगीका रूपमा तयार गरिन्छ।
विद्यालयका केही विद्यार्थीले प्राथमिक उपचार, रक्तचाप मापन, तापक्रम परीक्षण तथा स्वास्थ्य कक्ष व्यवस्थापनमा सहयोग गर्ने जिम्मेवारी पाएका छन्।
यसले उनीहरूलाई स्वास्थ्यसम्बन्धी ज्ञान मात्र दिएको छैन, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीबोध पनि विकास गरेको छ।
विद्यालय नर्स मुना अधिकारी भन्छिन्, “बालबालिकालाई सानैदेखि जिम्मेवारी दिन सके उनीहरू भविष्यमा पनि समाजप्रति उत्तरदायी नागरिक बन्छन्।”
विद्यालयदेखि समुदायसम्म प्रभाव
विद्यालय नर्स कार्यक्रमको प्रभाव विद्यालयको घेराभित्र मात्र सीमित छैन। यसको असर परिवार र समुदायसम्म फैलिएको छ।
विद्यार्थीले विद्यालयमा सिकेका सरसफाइ, पोषण र स्वास्थ्यसम्बन्धी व्यवहार घरमा पनि लागू गर्न थालेका छन्। हात धुने बानी, सफा खानेपानीको प्रयोग, सन्तुलित भोजन र व्यक्तिगत सरसफाइका विषयमा उनीहरूले परिवारका सदस्यलाई समेत सचेत गराउने गरेका छन्।
कतिपय अभिभावकले आफ्ना छोराछोरीमार्फत स्वास्थ्यसम्बन्धी नयाँ जानकारी पाएको अनुभव सुनाउने गरेका छन्।
यसले विद्यालयलाई केवल पढाइ हुने स्थान नभई सामाजिक परिवर्तनको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ।
महामारीमा देखिएको भूमिका
कोभिड–१९ महामारीको कठिन समयमा विद्यालय नर्सहरूको भूमिका अझ बढी महत्वपूर्ण बनेर देखियो।
त्यसबेला स्वास्थ्य सचेतना फैलाउने, मास्क प्रयोग र हात धुने अभ्यासलाई प्रोत्साहन गर्ने, खोपसम्बन्धी जानकारी दिने तथा संक्रमण नियन्त्रणका उपाय सिकाउने काममा विद्यालय नर्सहरू अग्रपंक्तिमा रहे।
विद्यालय बन्द भए पनि उनीहरूले समुदायस्तरमा स्वास्थ्य सन्देश प्रवाह गर्न महत्वपूर्ण योगदान दिएका थिए।
महामारीले विद्यालय नर्स कार्यक्रमको आवश्यकता र उपयोगिता अझ स्पष्ट बनाएको थियो।
प्रदेशबाट राष्ट्रिय अभ्याससम्म
विद्यालय नर्स कार्यक्रमको सुरुवात कोशी प्रदेशबाट भएको हो। प्रदेश सरकारले केही विद्यालयमा परीक्षणका रूपमा कार्यक्रम लागू गरेको थियो।
प्रारम्भिक सफलतापछि यसको दायरा विस्तार हुँदै गयो। अहिले यो अवधारणाले राष्ट्रिय स्तरमा समेत प्राथमिकता पाएको छ। “एक विद्यालय, एक नर्स” को अवधारणा शिक्षा र स्वास्थ्य क्षेत्रबीचको सहकार्यको उदाहरण बनेको छ।
यसले विद्यालयलाई स्वास्थ्यमैत्री वातावरण निर्माण गर्न मद्दत पुर्याएको छ भने विद्यार्थीलाई विद्यालयमै आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पनि दिएको छ।
चुनौती अझै बाँकी
कार्यक्रमका उपलब्धि उत्साहजनक भए पनि चुनौतीहरू भने समाप्त भएका छैनन्।
धेरै विद्यालयमा स्वास्थ्य कक्षको भौतिक पूर्वाधार पर्याप्त छैन। कतिपय स्थानमा आवश्यक औषधि तथा सामग्रीको अभाव देखिन्छ। नियमित अनुगमन र मूल्याङ्कनको व्यवस्था पनि अपेक्षाकृत कमजोर रहेको सरोकारवालाहरू बताउँछन्।
त्यसैगरी स्थानीय तह, विद्यालय र स्वास्थ्य निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ।
स्वास्थ्य विज्ञहरूका अनुसार कार्यक्रमलाई दीर्घकालीन रूपमा सफल बनाउन पर्याप्त बजेट, तालिम, स्रोतसाधन र स्पष्ट कार्ययोजना आवश्यक हुन्छ।
भविष्यको बाटो
विद्यालय नर्स कार्यक्रम केवल स्वास्थ्य सेवा विस्तारको योजना होइन। यो स्वस्थ, आत्मविश्वासी र जिम्मेवार नागरिक निर्माण गर्ने अभियान हो।
विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा, परामर्श र संरक्षण उपलब्ध हुँदा उनीहरूको सिकाइ क्षमता पनि बढ्छ। स्वस्थ विद्यार्थीले नै राम्रो शिक्षा हासिल गर्न सक्छन् र समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सक्छन्।
आज विद्यालय नर्सहरू विद्यार्थीका लागि औषधि दिने स्वास्थ्यकर्मी मात्र होइनन्। उनीहरू विश्वासका पात्र, मनोपरामर्शदाता, अभिभावक र साथी बनेका छन्।
विद्यालयका गल्ली, कक्षा र स्वास्थ्य कक्षमा देखिने उनीहरूको उपस्थिति हजारौँ विद्यार्थीका लागि सुरक्षा र भरोसाको अनुभूति हो। स्वास्थ्य र शिक्षालाई एउटै सूत्रमा बाँध्ने यो अभियानले आगामी पुस्तालाई अझ सक्षम, सचेत र स्वस्थ बनाउने आधार तयार गरिरहेको छ।
सायद त्यसैले विद्यालय नर्सको कोठामा पुग्ने विद्यार्थीहरू अहिले निडर भएर भन्छन्—“हामीलाई केही भयो भने अब डर लाग्दैन, नर्स दिदी हुनुहुन्छ।”
(यो सामाग्री कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको पत्रकार लेखनवृत्ति कार्यक्रमअन्तर्गत तयार पारिएको हो ।)
