मेचीनगरले हटाउन थाल्यो धुलाबारी बजारका अतिक्रमित संरचना

ताजा समाचार स्थानिय

झापा ।झापाको मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरापालिकाले आजदेखि हटाउन थालेको छ । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनु पर्ने बाध्यता भएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।
धुलाबारी बजार क्षेत्रको शहीद मार्गमा विश्व बैंकको सहयोगमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना अन्तर्गत रु २७ करोड २१ लाख तीन हजार नौ सय ३१ बजेटमा पाँच दशमलब तीन किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति सुरु गरिएको छ ।
उक्त सडक १२ मिटर चौडाइ, दुई लेन र ड्रेनसहित बन्ने भएको हो । सडकको पूर्वतर्फको आधा भागमा ठूला पक्की घर र पसल वर्षौं अघि थिए । आज बिहानदेखि नगरपालिकाका नगर प्रहरीहरु डोजरसहित ती संरचना भत्काउन खटिएका छन् । धुलाबारी मोडदेखि उत्तरतर्फ एक सय मिटरको दूरीमा रहेका अतिक्रमित सबै संरचना भत्काइएका छन् ।
भत्किएको स्थानबाट घरधनी तथा पसलेहरुले आफ्ना सामान सुरक्षित स्थानमा सारेका छन् । मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले सडक मिचेर बनाइएका सबै संरचना हटाइने जनाउँदै पाँच दिनभित्रमा सडकको ४२ मिटर क्षेत्र खाली गरिने बताए ।बजार क्षेत्रमा अतिक्रमण गरेर ५२ वटा सटर बनेको वडाध्यक्ष खनालले बताए ।
धुलाबारी मुलुककै पुरानोमध्येको एक बजार हो । कुनैबेला हङकङ मार्केटको रुपमा यसको ख्याति दार्जीलिङ, कोलाकाता, आसाम र भुटानसम्म फैलिएको थियो । उताका व्यवसायी तथा धनाढ्यहरु महँगा चिनियाँ सामान किन्न धुलाबारी आउने गर्थे । भारत र चीनबीच नाका खुला गर्ने नयाँ व्यापार सम्झौता भएपछि धुलाबारी बजार सुस्ताउँदै गएको थियो ।
गुल्जार भएका बेला धुलाबारी बजार क्षेत्रमा व्यापारिक उद्देश्यले जथाभावी घर तथा पसल निर्माणको लहर चल्यो । त्यही बेला पक्की संरचना सडक सीमा क्षेत्रभित्रै बनेका थिए । विसं २०८२ असार ३१ गतेभित्र निर्माण पूरा गर्ने गरी भारत विहारको निर्माण कम्पनी एनएनटी डेभलोपर्स प्रालिले सडकको ठेक्का पाएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *