कोशी सरकारको लगानीः नमुना बन्दै सामुदायिक विद्यालय, स्वास्थ्य सेवामा उल्लेख्य परिवर्तन

Share

सरोजकुमार भट्टराई । झापा
विज्ञान प्रयोगशालाभित्र विद्यार्थीहरू विभिन्न उपकरण, नमुना र प्रयोगात्मक सामग्रीको अवलोकन तथा परीक्षणमा व्यस्त छन् । कक्षा कोठामा सिकाइएका सिद्धान्तलाई व्यवहारमा उतार्ने प्रयासमा उनीहरू तल्लीन देखिन्छन् । विज्ञान शिक्षा अब पाठ्यपुस्तकमा मात्रै सीमित छैन । प्रयोगशाला, अनुसन्धान र व्यावहारिक सिकाइमार्फत भविष्य निर्माणको आधार बन्दै गएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–११ स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ११ विज्ञान संकायमा अध्ययनरत छात्रा गंगा पौडेल विज्ञानप्रतिको आफ्नो आकर्षण बाल्यकालदेखि नै रहेको बताउँछिन् । उनका अनुसार विज्ञान शिक्षा परीक्षा उत्तीर्ण गर्ने विषय मात्र नभएर भविष्य निर्माण गर्ने महत्वपूर्ण माध्यम हो ।

उनले भनिन्, ‘विज्ञान पढेपछि स्वदेशमै धेरै अवसर सिर्जना गर्न सकिन्छ । अहिले धेरै विद्यार्थी विदेश जाने सोचमा छन् । तर, न्यूरो साइन्स, मेडिकल तथा अनुसन्धानका क्षेत्रमा नेपालमै पनि ठूलो सम्भावना छ । त्यसैले आफ्नै देशमा बसेर योगदान दिन सकिन्छ भन्ने विश्वासका साथ मैले विज्ञान संकाय रोजेकी हुँ ।’

सोही विद्यालयका छात्र गणेश घिमिरेले विज्ञान तथा प्रविधि शिक्षाले देशबाट दक्ष जनशक्ति पलायन हुने अवस्थालाई कम गर्न सक्ने बताए । उनका अनुसार नेपालमै अवसर खोज्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन गुणस्तरीय शिक्षा आवश्यक छ ।

अर्का विद्यार्थी झरेन्द्र मिश्र गाउँमै आधुनिक प्रयोगशालासहित विज्ञान शिक्षा अध्ययन गर्ने अवसर पाएकोमा उत्साहित छन् । ‘पहिले विज्ञान पढ्न शहर धाउनुपर्ने अवस्था थियो,’ उनले भने, ‘तर, अहिले आफ्नै ठाउँमा गुणस्तरीय सुविधा उपलब्ध भएपछि भविष्यप्रति आशावादी बनेको छु ।’

विद्यालयका प्रधानाध्यापक गिरीराज शेर्माका अनुसार गत जेठ २५ गतेदेखि विद्यालयमा औपचारिक रूपमा कक्षा ११ को विज्ञान संकाय सञ्चालनमा आएको हो । विज्ञान शिक्षा सञ्चालनका लागि आवश्यक प्रयोगशाला, उपकरण तथा पूर्वाधार तयार भइसकेको उनले बताए । विद्यालयमा पहिलोपटक विज्ञान संकाय सञ्चालन भएपछि स्थानीय विद्यार्थीलाई आफ्नै ठाउँमा गुणस्तरीय विज्ञान शिक्षा प्राप्त गर्ने अवसर खुलेको छ ।

कोशी प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई मानव विकासको आधार स्तम्भ मानेर निरन्तर लगानी बढाउँदै आएको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि शिक्षा तथा सामाजिक क्षेत्रतर्फ मात्र ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रस्तुत गरेको बजेटमा सांकेतिक भाषाको प्रत्याभूति कार्यक्रमका लागि १६ करोड, सांकेतिक भाषा स्रोत कक्षाका लागि १ करोड तथा प्रदेशका १०० विद्यालयमा डिजिबोर्डमार्फत पठनपाठन सुरु गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कोशी प्रदेश सरकारले विद्यालयको भौतिक अवस्था सुधार र शिक्षाको गुणस्तर बृद्धिका प्राथमिकतामा राखेर काम गरिहेको कोशी प्रदेशमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत पेशल कुमार राईले बताए । उनले प्रदेश भरीकै सामुदायिक विद्यालयहरुम्ँ आईसीटीमैत्री कक्षा कोठा, डिजिटल सामग्रीको प्रयोग तथा शैक्षिक व्यवस्थापनका लागि काम भएको जानकारी दिए ।

यही लगानी र सुधारको प्रतिफलस्वरूप कोशी प्रदेशका १४ जिल्लामध्ये केही सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षाको उत्कृष्ट नमुना प्रस्तुत गरेका छन् । ती विद्यालयहरूले सामुदायिक विद्यालय पनि व्यवस्थापन, पूर्वाधार, नतिजा र नवप्रवर्तनका हिसाबले निजी विद्यालयभन्दा कम छैनन् भन्ने सन्देश दिएका छन् ।

धुलाबारी माध्यमिक विद्यालय ः व्यवस्थापन र अनुशासनको उदाहरण
झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालय प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक मानिन्छ । विक्रम संवत २०७९ मा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट उत्कृष्ट विद्यालयको रूपमा सम्मानित भएको यो विद्यालयमा हाल ३ हजार ४०७ विद्यार्थी अध्ययनरत छन् ।

प्रधानाध्यापक महेन्द्र विशाल लुइँटेलका अनुसार प्रत्येक कक्षामा अधिकतम ४५ विद्यार्थी राख्ने व्यवस्था गरिएको छ । शिक्षक अभाव भए निजी स्रोतबाट थप शिक्षक व्यवस्थापन गरिएको छ । कुनै शिक्षक अनुपस्थित हुँदा ‘प्रोक्सी रुटिन’ लागू गरी कक्षा खाली हुन नदिने व्यवस्था गरिएको छ ।

उनका अनुसार शिक्षकलाई नियमित उपस्थित गराउन बिदा बचतबापत प्रोत्साहन सुविधा प्रदान गरिन्छ । कमजोर विद्यार्थीका लागि बिहान, बेलुका तथा बिदाका दिन अतिरिक्त कक्षा सञ्चालन गरिन्छ । कक्षा ८ र १० का विद्यार्थीका लागि प्रत्येक शनिबार परीक्षा सञ्चालन गर्ने व्यवस्था छ ।

विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा अध्यापन गराइन्छ । शिक्षक क्षमता विकासका लागि नियमित तालिम सञ्चालन हुन्छ । विद्यार्थी तथा शिक्षकलाई शैक्षिक अवलोकन भ्रमणमा लगिने भएकाले विद्यालयप्रति आकर्षण बढेको छ ।

विद्यालयले बायोग्यास प्लान्ट निर्माण गरी प्रयोगशालाका लागि आवश्यक ग्यास उत्पादन गरिरहेको छ । ‘कमाउँदै पढ्दै’ कार्यक्रमअन्तर्गत बंगुर, माछा, कुखुरा, बाख्रा र गाईपालन गरिएको छ । अल्ट्रा फिल्टरेसन प्रविधियुक्त खानेपानी, हरियाली र आकर्षक वातावरणले सिकाइलाई थप प्रभावकारी बनाएको छ ।

भानुभक्त माध्यमिक विद्यालय ः सामुदायिक विद्यालयको बदलिँदो अनुहार
इलामको भानुभक्त माध्यमिक विद्यालय सामुदायिक विद्यालयप्रतिको परम्परागत नकारात्मक धारणालाई बदल्ने विद्यालयका रूपमा परिचित छ । पछिल्लो समय सामुदायिक विद्यालयलाई कमजोर गुणस्तर, राजनीतिक प्रभाव र व्यवस्थापन समस्यासँग जोडेर हेरिने गरिए पनि केही विद्यालयले त्यही धारणा तोडिरहेका छन् ।

भानुभक्त माविले शिक्षण सिकाइ सुधार, सूचना प्रविधिको प्रयोग, अभिभावक सहभागिता, प्रशासनिक पारदर्शिता र शैक्षिक उपलब्धिमार्फत सामुदायिक विद्यालय पनि उत्कृष्ट हुन सक्छन् भन्ने प्रमाणित गरेको छ । विद्यालयले समाज परिवर्तनको मेरुदण्डका रूपमा आफ्नो भूमिका विस्तार गर्दै शिक्षालाई समुदाय विकाससँग जोडेको छ । यही कारण यो विद्यालय प्रदेशका उत्कृष्ट विद्यालयमध्ये गणना हुने गरेको छ ।

जनता माध्यमिक विद्यालय, इटहरी ः पूर्वी नेपालको शैक्षिक धरोहर
सुनसरीको इटहरीस्थित जनता माध्यमिक विद्यालय पूर्वी नेपालको सबैभन्दा पुराना सामुदायिक विद्यालयमध्ये एक हो । २०१३ सालमा स्थापना भएको विद्यालयले हजारौं दक्ष जनशक्ति उत्पादन गरेको छ । प्रधानाध्यापक पशुपति सिग्देलका अनुसार विद्यालयमा हाल ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको छ । उनका अनुसार विपद् र महामारीका समयमा समेत सिकाइ निरन्तरता दिन अनलाइन कक्षा सञ्चालन गरिएको थियो ।

छात्रा तथा अपांगता भएका विद्यार्थीलाई लक्षित कार्यक्रम, छात्रवृत्ति, ई–हाजिरी प्रणाली तथा सुशासनलाई विद्यालयले प्राथमिकता दिएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सामाजिक परीक्षण, लेखा परीक्षण र सार्वजनिक सुनुवाइ नियमित रूपमा सञ्चालन गरिन्छ । बाल क्लब, इको क्लब, गुनासो सुनुवाइ समिति लगायतका संरचनाले विद्यालय व्यवस्थापनलाई अझ प्रभावकारी बनाएका छन् । विद्यालयको कक्षोन्नति दर ९९ प्रतिशतभन्दा माथि छ भने कक्षा दोहो¥याउने दर १ प्रतिशतभन्दा कम र कक्षा छोड्ने दर शून्य रहेको छ ।

फिदिम माध्यमिक विद्यालय ः सूचना प्रविधि र प्राविधिक शिक्षाको केन्द्र
पाँचथरको फिदिम नगरपालिका स्थित फिदिम माध्यमिक विद्यालयले शैक्षिक, व्यवस्थापकीय तथा भौतिक विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । वि.सं. २००६ मा स्थापना भएको विद्यालय विभिन्न चरण पार गर्दै हाल आधुनिक शैक्षिक केन्द्रका रूपमा विकसित भएको छ । विद्यालयमा हाल २ हजार २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक विनोदकुमार ठाकुरका अनुसार सूचना प्रविधि र विश्व प्रतिस्पर्धालाई ध्यानमा राखेर विद्यालयको विकास गरिएको छ ।

आधुनिक शिक्षण विधि, सूचना प्रविधिको अधिकतम प्रयोग तथा सुशासनका माध्यमबाट विद्यालयले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गरिरहेको छ । कक्षा ९ देखि सिभिल इन्जिनियरिङ अध्ययन गराइन्छ भने कक्षा ११ र १२ मा शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान तथा इन्जिनियरिङ विषयको अध्ययन हुन्छ । यही कारण फिदिम मावि पाँचथर मात्र नभई छिमेकी जिल्लाका विद्यार्थीको समेत रोजाइमा परेको छ ।

भानु माध्यमिक विद्यालय, धनकुटा ः सर्वाङ्गीण विकासमा केन्द्रित
धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा रहेको भानु माध्यमिक विद्यालय २०१० सालमा स्थापना भएको हो । हाल ४१४ विद्यार्थी अध्ययनरत विद्यालयले शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकासलाई पनि प्राथमिकता दिएको छ । प्रधानाध्यापक कमल सुब्बाका अनुसार विद्यालयले अभिभावक तथा सरोकारवालासँग प्रत्येक महिना छलफल गर्छ । प्राविधिक धारमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीका लागि सहयोग जुटाउन दाताको खोजी गरिन्छ ।

कमजोर विद्यार्थीका लागि निःशुल्क सहयोगी कक्षा, अतिरिक्त कक्षा तथा खेलकुद कार्यक्रम सञ्चालन गरिन्छ । विद्यालयमा संगीत कक्षासमेत सञ्चालनमा छ । उनका अनुसार अतिरिक्त क्रियाकलापले विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक विकासमा महत्वपूर्ण योगदान पु¥याउने भएकाले विद्यालयले त्यसलाई विशेष प्राथमिकता दिएको छ ।

वीरेन्द्र माध्यमिक विद्यालय ः पहाडमा गुणस्तरीय शिक्षा
भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालय प्रदेशका उत्कृष्ट विद्यालयमध्ये पर्छ । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ५१८ विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक पर्शुराम विष्टका अनुसार विद्यालयले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भनेर अभियान सञ्चालन गर्दै आएको छ ।

कक्षा दोहो¥याउने र विद्यालय छोड्ने दर शून्य बनाउने लक्ष्यसहित काम भइरहेको छ । विद्यालयले शिक्षक क्षमता विकास, कार्यशाला, अभिभावक शिक्षा कार्यक्रम तथा बालमैत्री वातावरण निर्माणमा जोड दिएको छ । ११ वटा भवन र ४१ कक्षा कोठासहित विद्यालयले गुणस्तरीय सिकाइ वातावरण निर्माण गरेको छ ।

वरुणेश्वर माध्यमिक विद्यालय ः प्रविधिमैत्री शिक्षाको नमुना
ओखलढुंगाको मोलुङ गाउँपालिका–२ स्थित वरुणेश्वर माध्यमिक विद्यालय व्यवस्थापन र नवप्रवर्तनका कारण चर्चित छ । प्रधानाध्यापक कुलप्रसाद खतिवडाका अनुसार विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम सञ्चालन गरेको छ । यसले शिक्षकलाई पाठ योजना निर्माण, अनलाइन कक्षा सञ्चालन तथा विद्यार्थीको प्रगति व्यवस्थापनमा सहयोग पुगेको छ ।

विद्यालयमा विज्ञान र पशुविज्ञान प्रयोगशाला छन् । आईसीटीमैत्री कक्षा कोठा, डिजिटल सामग्रीको प्रयोग तथा शैक्षिक व्यवस्थापन डायरीले सिकाइलाई थप प्रभावकारी बनाएको छ । खतिवडाका अनुसार प्रविधिको प्रयोगले शिक्षक र विद्यार्थी दुवैलाई आधुनिक शिक्षण–सिकाइ प्रक्रियामा जोड्न मद्दत गरेको छ ।

जनता माध्यमिक विद्यालय, उदयपुर ः समुदायसँगको सहकार्य
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयलाई उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा पुरस्कृत गरिएको छ । विद्यालयमा हाल ९०० विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक रामबहादुर राउतका अनुसार विद्यालयले पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, खेलमैदान र सरसफाइलाई विशेष महत्व दिएको छ ।

विद्यालय ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गरिएको छ । विद्यालय व्यवस्थापनमा आमा समूह, पूर्वविद्यार्थी र अभिभावकलाई सक्रिय बनाइएको छ । गुनासो व्यवस्थापन र अभिभावकसँगको नियमित संवादले विद्यालयप्रति विश्वास बढाएको छ ।

केदार माध्यमिक विद्यालय ः हिमाली क्षेत्रको शैक्षिक केन्द्र
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालय २००४ सालमा स्थापना भएको हो । हाल ४०३ विद्यार्थी अध्ययनरत यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ विषय अध्ययन गराइन्छ ।

प्रधानाध्यापक एकराज शर्माका अनुसार विद्यालयमा कम्प्युटर ल्याब, वैकल्पिक ऊर्जा प्रणाली तथा आधुनिक शैक्षिक पूर्वाधार विकास गरिएको छ । सार्वजनिक सुनुवाइ, नियमित अभिभावक भेला, आचारसंहिता कार्यान्वयन तथा अतिरिक्त क्रियाकलापलाई विशेष प्राथमिकता दिइएको छ । कोशी प्रदेश सरकारबाट प्राप्त प्रोत्साहन र पुरस्कारले विद्यालयको व्यवस्थापन तथा पूर्वाधार विकासमा थप ऊर्जा प्रदान गरेको उनले बताए ।

वसन्त माध्यमिक विद्यालय ः प्राविधिक शिक्षाको भरोसायोग्य केन्द्र
तेह्रथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुरस्थित वसन्त माध्यमिक विद्यालय धनकुटा, तेह्रथुम र संखुवासभाका विद्यार्थीको शैक्षिक केन्द्रका रूपमा परिचित छ । प्रधानाध्यापक नरेन्द्रप्रसाद काफ्नेका अनुसार विद्यालयमा हाल ४२५ विद्यार्थी अध्ययनरत छन् । कृषितर्फ बाली विज्ञान विषयको अध्ययन गराइन्छ । बालकक्षादेखि कक्षा ८ सम्म स्मार्ट टिभीमार्फत पठनपाठन गराइन्छ ।

उनका अनुसार अतिरिक्त क्रियाकलापले विद्यार्थीको नेतृत्व क्षमता, आत्मविश्वास, सहकार्य र निर्णय क्षमताको विकास गर्न मद्दत गर्छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पोसाक, स्टेशनरी तथा छात्रवृत्ति उपलब्ध गराइन्छ । विद्यालयले अभिभावकलाई विद्यालयका गतिविधिमा सहभागी गराउने अभियानसमेत सञ्चालन गरिरहेको छ ।

स्वास्थ्य सेवामा पहुँच विस्तार ः कोशी प्रदेश सरकारको प्राथमिकता
शिक्षासँगै स्वास्थ्य क्षेत्रलाई पनि कोशी प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि स्वास्थ्य क्षेत्रतर्फ ३ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले अस्पताल निर्माण, स्वास्थ्य संस्था स्तरोन्नति, स्वास्थ्य जनशक्ति व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ । नसर्ने रोग नियन्त्रण, सरसफाइ प्रवर्धन, पोषण सुधार, किशोरकिशोरी स्वास्थ्य तथा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको नगर प्रमुख मेगाहाङ थोप्राले बताए ।

उनका अनुसार झापाको शिवसताक्षी नगरपालिकामा प्रदेश सरकारको सहयोगमा नगर अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ६ शिवगञ्जमा निर्माण सम्पन्न अस्पताल आगामी आर्थिक वर्षमा सञ्चालनमा आउने तयारीमा छ । अस्पताल सञ्चालनमा आएपछि नगरवासीले सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको नगर प्रमुख थोप्राले बताए । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर वर्गलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।

नगरभित्र धरमपुर स्वास्थ्य चौकी, पाँचगाछी स्वास्थ्य चौकीलगायत स्वास्थ्य संस्थाबाट हजारौं नागरिकले सेवा पाइरहेका छन् । गर्भवती तथा सुत्केरी सेवा, परिवार नियोजन, खोप, पोषण परामर्श र सामान्य उपचार सेवा नियमित सञ्चालनमा छन् । वडा नं. १, ३, ५, ७ र ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा नं. ९ र १० मा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । यसले समुदायस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पु¥याएको छ ।

वडा नं. ११ दुधेमा रहेको आयुर्वेद औषधालयले दीर्घरोगीलाई सेवा प्रदान गरिरहेको छ । औषधालयले घुम्ती शिविरमार्फत नगरका सबै वडामा सेवा विस्तार गरेको छ । प्रदेश सरकारले त्यहाँ प्रयोगशाला उपकरणसमेत उपलब्ध गराएको छ । प्रदेश सरकारको लगानी र स्थानीय तहको सक्रियताका कारण शिवसताक्षी नगरपालिका पूर्ण खोपयुक्त स्थानीय तह घोषणा हुन सफल भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत शारंगा तामाङले बताइन् । उनका अनुसार नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएपछि यो उपलब्धि हासिल भएको हो ।

हाल नगर स्वास्थ्य शाखामार्फत विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न संघीय सरकारबाट ४ करोड ६६ लाख रुपैयाँ सशर्त अनुदान प्राप्त भएको छ भने नगरपालिकाले आफ्नै स्रोतबाट थप ७० लाख रुपैयाँ विनियोजन गरेको छ । शिवसताक्षी नगरपालिकामा ४१ जना महिला स्वास्थ्य स्वयंसेविका सक्रिय छन् । उनीहरूले घरदैलोमै पुगेर स्वास्थ्य शिक्षा दिने, गर्भवती महिलाको निगरानी गर्ने, खोप कार्यक्रम सञ्चालनमा सहयोग गर्ने तथा समुदायमा स्वास्थ्य सचेतना फैलाउने काम गरिरहेका छन् ।

स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र समुदायको सहकार्यले स्वास्थ्य सेवाको पहुँच विस्तार भएको छ । नगर अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तामाङले बताइन् । स्वास्थ्य र शिक्षा मानव विकासका दुई आधार स्तम्भ हुन् ।

कोशी प्रदेश सरकारले शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गरेको लगानीले सामुदायिक विद्यालयको स्तर उकास्नुका साथै स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

प्रदेश सरकारले सय दिनमा स्वास्थ्यमा विशेष अनुदानतर्फको ग्रामीण आमा स्वास्थ्य सुरक्षा कार्यक्रमको झापा, धनकुटा, ओखलढुङ्गा, पाँचथर र सोलुखुम्बुका स्वास्थ्य कार्यालयहरुबाट सम्बन्धित जिल्लाका स्थानीय तहमा रहेका बर्थिङ सेन्टर मार्फत कार्यक्रम लागु गरिएको कोशी प्रदेश जनस्वास्थ्य प्रशासक डा. सभ्यता पन्थीले जानकारी दिइन् । उनले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क माइक्रोबायोलोजी र ब्याक्टेरियोलिजी, कोगुलेसन प्रोफायल एचपीभी, डिएनए परिक्षण सेवा सुरु गरिएको उल्लेख गरिन् ।

प्रदेशका उत्कृष्ट विद्यालयहरूले गुणस्तरीय शिक्षाको नयाँ उदाहरण प्रस्तुत गरिरहेका छन् भने स्वास्थ्य क्षेत्रमा भइरहेको पूर्वाधार विस्तार र सेवा सुधारले नागरिकको जीवनस्तर उकास्ने आधार तयार गरेको छ । यिनै प्रयासहरूले समृद्ध, शिक्षित र स्वस्थ समाज निर्माणको लक्ष्यलाई थप मजबुत बनाइरहेको सरोकारवालाहरु बताउँछन् ।

(यो सामाग्री कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको पत्रकार लेखनवृत्ति कार्यक्रमअन्तर्गत तयार पारिएको हो ।)

ताजा समाचार