शिक्षणमा युवा पुस्ता, नयाँ ऊर्जाले देखिँदै परिवर्तनक्षमता विकास: प्रदेश सरकारको प्राथमिकता

Share

गोपाल गुरागाईं,

झापाको कमल–६ का राजेन्द्र दाहाल २०७९ सालमा माध्यमिक तहको विज्ञान तथा प्रविधि शिक्षकका रूपमा पाँचथरको तुम्बेवास्थित इन्द्राणी माध्यमिक विद्यालयमा नियुक्त हुनुभयो ।नयाँ ठाउँ र फरक परिवेशले सुरुवातमा केही अन्योल थियो । तर हरेक दिन कक्षा कोठामा प्रवेश गर्दा केही नयाँ गर्ने हुटहुटी हुन्थ्यो ।यसले मलाई केवल पढाउन मात्र नभई सामुदायिक विद्यालयप्रति समाजको धारणा बदल्न र विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा दिन प्रेरित गर्थ्यो,’ उहाँले भन्नुभयो,  ‘विद्यालयमा प्रविधिमैत्री शिक्षामा सकेको मिहिनेत गरिरहेको छु ।’

विराटनगर १९ की साधना घिमिरेलाई सानैदेखि शिक्षण पेसाप्रति मोह थियो । सही मोहका कारण २०८० सालमा शिक्षक सेवा आयोगको परीक्षा दिनुभयो । र उत्तीर्ण भई तुम्वेवा १ को आङ्नास्थित गर्भवती आधारभूत विद्यालयमा नियुक्त हुनुभयो । दुर्गम भूगोल, न्यून विद्यार्थी रविपन्न समुदायको बिचमा रहेको विद्यालयमा काम थाल्दा उहाँभित्र पनि अनेक प्रश्नहरू उब्जिएका थिए । समयक्रमले प्रधानाध्यापकको जिम्मेवारी दिलायो ।  ‘विद्यार्थीहरूलाई थप आकर्षित गर्न घर घरमा पुगेर अभियान चलायौँ । अहिले विद्यार्थी सङ्ख्या पनि बढाउन सफल
भयौँ,’ उहाँले भन्नुभयो ।

झापा कमलका नवीन गुरागाईंले २०७५ सालमा ताप्लेजुङको मिक्वाखोलास्थित सिंहेश्वरी आधारभूत विद्यालयमा स्थायी शिक्षकको रूपमा अध्यापन सुरु गर्नुभएको थियो । उहाँले छोटो अवधिमै
विभिन्न विद्यालयमा अनुभव बटुल्नुभएको छ । बिचमा केही वर्ष ताप्लेजुङकै फुङलिङस्थित वीरेन्द्र मावि र गौरादह ९ को लेखनाथ आधारभूत विद्यालयमा शिक्षण गर्नुभयो । यही क्रममा २०८१ सालदेखि भने झापा गौरादह ४ को भीमसेन आधारभूत विद्यालयमा
प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहनु भएको छ ।

झापाको कमल ६ स्थित पञ्चकन्या प्राथमिक विद्यालयकी प्रधानाध्यापक वचना राईले विद्यालय देखि नै शिक्षक बन्ने लक्ष्य राख्नुभएको थियो । शिक्षकले पढाउँदा उहाँहरूजस्तै बन्ने
सपना बुन्नुहुन्थ्यो । त्यसैले उच्च शिक्षा अध्ययनपश्चात् शिक्षण पेसामा  लाग्नुभयो । ‘मलाई शिक्षक बन्नु थियो, सपना पनि शिक्षक नै बनेको देख्थेँ,’ उहाँ भन्नुहुन्छ, ‘बालबालिकाहरूसँग
रमाउन र  उनीहरूलाई सिकाउन पाउँदा आफू पनि बालबालिका नै भएको महसुस हुने भएकाले शिक्षण पेसाले सधैँ आकर्षित गरिरह्यो।’

२०७५ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण भई पञ्चकन्या प्राविमा खटिनुभएकी उहाँलाई शिक्षकको जिम्मेवारी सम्हालेको छोटो समयमै थप जिम्मेवारी पनि आयो । तत्कालीन प्रअको अवकाशपछि प्रअ बन्नुभयो । ‘व्यवस्थापकीय काममा पनि ध्यान दिनुपर्ने भएकाले
प्रअको जिम्मेवारी अलिक गहन पनि छ तर अहिले यही पेसा र जिम्मेवारी नै रमाइलो लाग्छ,’उहाँले भन्नुभयो ।

नयाँ पुस्ताका शिक्षकले जिम्मेवारी सम्हालेपछि समुदायले पनि नयाँपन र नयाँ जाँगरको अपेक्षा गरेको उहाँको अनुभव छ । त्यसैले विद्यालयलाई प्रविधियुक्त बनाउने, नयाँ नयाँ शैक्षिक
सामाग्रीहरूको विकास र प्रयोग गर्ने जस्ता प्रयासलाई कक्षा कोठामा पनि उपयोग गर्ने गरेको उहाँले सुनाउनुभयो ।

यस्तै, गौरादह ४ को डोरामारी माविका शिक्षक प्रदीप नेपालीको पनि रोजाइको पेसा हो शिक्षण । शिक्षकहरूले समाजमा पाउने इज्जत, समाजले गर्ने विश्वास र कसैले केही सल्लाह लिनुपर्दा पहिलो रोजाइ शिक्षक बन्ने गरेको देख्नुभएका उहाँलाई पनि विद्यालय पढ्दादेखि यो
पेसाले आकर्षित गरेको थियो ।

औपचारिक अध्ययनसँगै शिक्षक सेवा आयोगको परीक्षाको पनि सँगसँगै तयारी गरिरहनु भएको थियो । सपना बिपनामा रूपान्तरित हुन २०७९ सालसम्म मिहिनेत गर्नुभयो । सो वर्ष आयोग परीक्षा उत्तीर्ण गरेपछि ताप्लेजुङको फुङलिङ ११ स्थित पवित्र आदर्श आविमा खटिनुभयो ।नयाँ परिवेशमा रोजेको पेसा गर्न पाउँदा असाध्यै खुसी लागेको उहाँको भनाइ छ । ‘शिक्षक बनेर बालबालिकासँग रमाउने रहर शिक्षण पेसाले पूरा गरिदिएको छ,’ अझ नयाँ ठाउँमा पुगेर जिम्मेवारी निर्वाह गर्दा पेसासँगै नयाँ समाज, भूगोल, संस्कार र संस्कृतिबारे धेरे कुरा सिक्ने मौका पनि पाइयो, यो पेसाप्रति गर्व लाग्छ मलाई ।’

अहिले झापा गौरादह सरुवा भएर आउनुभएका उहाँ शिक्षण पेसालाई निर्वाह र गुजाराको विषय मात्र नभई एउटा सामाजिक जिम्मेवारीको क्षेत्र ठान्नुहुन्छ । सूचना प्रविधिमा आएको विकास
र विस्तार भएको पहुँचले बालबालिकामा विभिन्न उत्सुकता विकास हुने, नयाँ नयाँ कुराको खोजी गर्ने भएकाले शिक्षकले पढाउने काम मात्र नगरी आफू पनि नियमित रूपमा पढ्न र विषयवस्तु अध्ययनमा केन्द्रित हुनुपर्ने उहाँ बताउनुहुन्छ । अहिलेको शिक्षण पद्धतिमा प्रवचन
विधिले मात्र नपुग्ने भएकाले प्रविधियुक्त र प्रविधिमैत्री शिक्षा दिन जरुरी रहेको उहाँले बताउनुभयो । त्यसका लागि उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्ने, शैक्षिक सामाग्री निर्माण गर्ने, विद्यार्थीलाई सहभागी गराउने जस्ता क्रियाकलापसमेत कक्षा कोठामा गर्ने गरिएको छ ।

यसरी शिक्षण पेसामा प्रवेश गरेको नयाँ पुस्ता छोटो समयमा नै सामुदायिक विद्यालयको नेतृत्व सम्हाल्न तयार भइरहेको छ । उनीहरूमार्फत शैक्षिक क्रियाकलापमा समेत नयाँपनको अभ्यास
भइरहेको छ ।

सानो प्रयासले परिवर्तन

प्रविधिमा राम्रो दक्खल भएका दाहालले परम्परागत रूपबाट मात्रभन्दा पनि सूचना प्रविधिको उपयोग गरी शिक्षण कर्मलाई नयाँपन दिने प्रयास गरिरहनुभएको छ । अहिले उहाँ
विद्यालयमा सूचना अधिकारीको समेत जिम्मेवारी निर्वाह गर्दै पठनपाठन गराइरहनु भएको छ। विद्यालयमा केही सूचना प्रविधिका उपकरण थिए । तर ती प्रयोगमा थिएनन् । ‘मर्मत र पुछपाछ गरी उपयोगमा ल्यायौँ । यसले विद्यार्थीमा नयाँपनको अनुभूति दिलाउन सकेका छौँ,’उहाँको भनाइ छ ।

उता, गर्भवती आधारभूत विद्यालयकी प्रधानाध्यापक घिमिरेले घर घरमा पुगेर विद्यार्थी ल्याउने र घरमै पुर्‍याउने अभियान नै थाल्नुभएको छ । तत्कालीन प्रधानाध्यापकको सरुवापछि
उक्त जिम्मेवारी सम्हाल्नुभएकी उहाँले भन्नुभयो, ‘शिक्षक मात्र हुनु र प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुमा धेरै फरक हुने रहेछ त्यसैले त विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको विद्यालयलाई पुनर्जीवन दिन जुटेका छौँ ।’

प्रअको जिम्मेवारीले थप दायित्ववोध गराउनका साथै ऊर्जासमेत जगाएको भीमसेनका प्रअ गुरागाईं बताउनुहुन्छ । आफूहरूको मिहिनेतपछि विद्यालयप्रति अभिभावक र समुदायको विश्वास
बढ्न थालेको उहाँको अनुभव छ । ‘अग्रजले पनि सकेको प्रयास गर्नुभएको थियो । हामी थप राम्रो गर्न लागिपरेका छौँ,’ उहाँले भन्नुभयो, ‘सूचना प्रविधिको प्रयोग, अतिरिक्त क्रियाकलाप, शैक्षिक सामाग्री प्रयोग आदिको माध्यमबाट गुणस्तर सुधारमा जोड दिइरहेका
छौँ ।’ समुदायको पनि सकारात्मक साथ पाइरहेको उहाँको भनाइ छ ।

सोही विद्यालयकी शिक्षक निर्मला भट्टराईले यसअघि ताप्लेजुङको पाथीभरा याङ्वरक १ स्थित पाथीभरा आधारभूत विद्यालयमा शिक्षण गर्नुभएको थियो । २०७६ सालमा स्नातक उत्तीर्ण भएपछि शिक्षण पेसामा आबद्ध उहाँ यसले समुदायप्रतिको दायित्वसमेत भएको बताउनुहुन्छ ।`एउटा शिक्षक सरकारको जागिरे कर्मचारी मात्र होइन, समुदायलाई सही मार्गमा डोर्‍याउने दायित्व बोकेको जिम्मेवार नागरिकसमेत हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामी शिक्षक पनि
बालबालिकाहरूको भविष्यका लागि निरन्तर सिकाइ र अभ्यासमा जुट्न उत्तिकै आवश्यक छ ।’

शिक्षकको क्षमता विकासका लागि नियमित रूपमा विभिन्न विषयगत तालिम, प्रशिक्षण तथा अभिमुखीकरणको पनि आवश्यकता रहेको नयाँ पुस्ताका शिक्षकको अनुभव छ । प्रविधिको उपयोगले
विद्यार्थीलाई विषयवस्तु बुझ्न सहज हुने, विषयवस्तुका सामाग्री चित्र एवं श्रव्य दृश्यको माध्यमबाट प्रस्तुत गर्न सहज हुने भएकाले यस्ता विकल्प र स्रोतसाधनको प्रयोगमा पनि नयाँ
पुस्ताको जाँगर देखिन्छ ।

क्षमता विकासले ऊर्जा

शिक्षकहरूको क्षमता विकासका लागि हुने तालिम तथा सीप विकासका कार्यक्रमले थप ऊर्जा दिने गरेको छ । अझ नवप्रवेशी शिक्षकहरूका लागि त यस्ता तालिम मार्गदर्शक बन्ने गरेका छन्।

शिक्षण पेसामा नव प्रवेशीलाई केही अन्यौलता भए पनि तालिम तथा क्षमता विकासका कार्यक्रमले मार्ग प्रशस्त गर्ने गरेको इन्द्राणीका शिक्षक दाहालको भनाइ छ ।  ‘तालिमले धेरै प्रकारका अन्यौलता चिर्न सघाउ पुर्‍याएको छ,’ उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।

कोशी प्रदेशमा सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा तालिम केन्द्र सुनसरीले शिक्षकहरूका लागि विभिन्न प्रकारका तालिम सञ्चालन गर्ने गरेको छ । केन्द्रका प्रमुख यादवप्रसाद दुलाल नवप्रवेशी, सेवारत तथा विषयगत शिक्षकका लागिसमेत तालिम सञ्चालन गर्ने गरिएको बताउनुहुन्छ । पाठ्यक्रम, विषय, शिक्षण शैलीमा आउने परिवर्तन, सुधार तथा नयाँपनबारे शिक्षकलाई नियमित रूपमा विभिन्न प्रकारका तालिममार्फत अभ्यस्त बनाउने
गरिएको उहाँले बताउनुभयो ।

शिक्षक पेसागत विकास प्रमाणीकरण तालिम, पुनर्ताजगी तालिम, प्रधानाध्यापक नेतृत्व क्षमता विकास, प्राविधिक धारका प्रशिक्षकको क्षमता विकास जस्ता विभिन्न विषयमा शिक्षकलाई तालिम उपलब्ध गराउने गरिएको केन्द्रले जनाएको छ ।

यसैगरी बालविकास शिक्षकलाई तालिम, खेल शिक्षकका लागि आधारभूत तालिममार्फत समेत केन्द्रले शिक्षकको क्षमता विकास गर्दै आएको छ । अनलाइन तथा भौतिक उपस्थितिमा हुने तालिमले शिक्षकलाई विषय बस्तुबारे बहुआयामीक रूपमा जानकारी गराउने, कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्ने तथा क्षमता विकासका लागि पनि सघाउ पुर्‍याउने गरेको शिक्षकहरूको समेत अनुभव छ ।

इन्द्राणीका शिक्षक दाहाल तालिम केन्द्रमार्फत प्राप्त हुने टीपीडी तालिमले शिक्षकलाई जिम्मेवारी निर्वाह गर्न सीप, क्षमता र आत्मविश्वास जागृत गर्ने बताउनुहुन्छ । पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका रोष्टर विज्ञ एवं तुम्बेवा गाउँपालिकाको विषयविज्ञ समेत रहनु भएका उहाँले विषय तथा क्षेत्रसँग सम्बन्धित यस्तो तालिम सबै शिक्षकका लागि जरुरी रहेको बताउनुभयो ।

नयाँ शिक्षकलाई टीपीडी तालिमले कार्यक्षेत्रमा काम गर्न ऊर्जा र प्रोत्साहन मिल्ने यस्तै झापाको गौरीगञ्ज १ स्थित वालकल्याण माविकी शिक्षक सुशीला पौडेलको भनाइ छ । तालिम केन्द्रले समेत शिक्षकको आवश्यकताका आधारमा तालिम र क्षमता विकासलाई प्राथमिकतामा राख्ने गरेको छ ।

अबको आवश्यकता

लामो समय शिक्षण पेसामा बिताएकाहरू शिक्षण क्षेत्रमा प्रविधि र भाषागत रूपमा समेत दक्ष नयाँ पुस्ताको प्रवेश बढिरहेकाले गुणस्तरमा थप सुधार आउनेमा आशावादी छन् । १४ वर्ष विद्यालय श्रोत व्यक्ति तथा दमक ३ स्थित ढुकुरपानी माविको ६ वर्ष प्रधानाध्यापक समेत भएर अवकाश पाउनुभएका कृष्णप्रसाद भण्डारी ऊर्जावान् नयाँ पुस्ता शिक्षणमा आउनु सामुदायिक
शिक्षा सुधारको राम्रो संकेत भएको बताउहुनुहुन्छ । उनीहरूको क्षमता प्रस्तुतिका लागि श्रोत साधनको उपलब्धतालाई प्राथमिकता दिइनुपर्नेमा उहाँको जोड छ । ‘राज्यले उनीहरूको ऊर्जा
र क्षमतालाई प्रयोग गर्ने योजना ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो ।

विद्यालयमा विद्युत्, इन्टरनेट, कम्प्युटर, प्रयोगशाला जस्ता पूर्वाधारहरूको उपलब्धतालाई प्राथमिकतामा राखिन जरुरी रहेको उहाँको भनाइ छ । ‘भाषा र प्रविधिमा दक्ष जनशक्ति भए पनि विद्यालयमा आधारभूत सुविधा र प्रविधि उपलब्ध नगराए उसले क्षमता देखाउन सक्दैन त्यसैले पूर्वाधारयुक्त बनाउन जरुरी छ ।’ यस्तै बालमैत्री सिकाई, प्रविधि र पेडागोजी (शिक्षण विधि) तालिमसमेत उपलब्ध गराई प्रयोगात्मक र खेल्दै सिक्ने वातावरण बनाउन सके नयाँ पुस्ताले थप ऊर्जावान् भएर काम गर्न सक्ने उहाँले बताउनुभयो ।

संघीय संरचनाले विद्यालय व्यवस्थापनलाई समुदाय नजिक ल्याएको छ । स्थानीय सरकारले माध्यमिक तहसम्मका विद्यालय सञ्चालनको जिम्मेवारी सम्हालिरहेका छन् । प्रदेश र संघ सरकारले सघाइरहेका छन् । शिक्षण सिकाइको विधि पनि प्रविधिमैत्री बन्दै छ । युग सुहाउँदै बन्दै छ । शिक्षकहरू पनि सूचना प्रविधिमा केही अभ्यस्त छन्, केही हुँदै छन् । उनीहरूले अनलाइन स्रोत, मिश्रित शिक्षा र अनुसन्धान आधारित अभ्यासलाई दैनिक शिक्षणमा प्रयोग
गर्न थालेका छन् । यो सकारात्मक संकेत हो ।

इलामको चुलाचुली २ स्थित जनता माविबाट ३७ वर्ष लामो शिक्षण पेसा टुङ्ग्याउनु भएका विन्दुप्रसाद दाहाल यसमा तालिम र सीप मात्रभन्दा पनि पनि इमानदारिता र जिम्मेवारीवोधले बढी काम गर्ने बताउनुहुन्छ । भोलीको समाज र राष्ट्रलाई कुन दिशातर्फ
डोर्‍याउने भन्ने जनशक्ति आजको शिक्षकमार्फत तयार हुने भएकाले शिक्षण कार्यलाई जागिरभन्दा पनि समाज र राष्ट्र प्रतिको दायित्व सम्झिएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘विषयवस्तुको ज्ञानले मात्र पनि हुँदैन, त्यसलाई कार्यान्वयन गर्ने र विद्यार्थीलाई बुझाउने सीप विकास पनि जरुरी छ । कविता लेख्नु, वाचन गर्नु र शिक्षण गर्नु अलगअलग विषय हो,’ उहाँले भन्नुभयो, ‘यसतर्फ स्वयं शिक्षकले पनि ध्यान दिन आवश्यक हुन्छ ।’

हरेक पेसा र क्षेत्रमा नयाँ पुस्ताको प्रवेश नियमित  र स्वाभाविक प्रक्रिया हो । तर शिक्षण पेसामा भाषागत तथा प्रविधिगत रूपमा दक्ष जनशक्तिको प्रवेशले शिक्षण सिकाई कार्यमा ऊर्जा पनि थपेको छ । यो ऊर्जालाई थप नतिजामुखी बनाउन विद्यालय तथा कक्षा
कोठामा आवश्यक पूर्वाधार विकास, प्रविधि र नियमित क्षमता विकासका कार्यलाई पनि प्राथमिकता दिन जरुरी रहेको दाहालले बताउनुभयो ।

(यो सामाग्री कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन  मन्त्रालयको पत्रकार लेखनवृत्ति कार्यक्रमअन्तर्गत तयार पारिएको हो ।)

ताजा समाचार