सुजन गाैतम / दमक – राप्रपा दमक वडा नं. ७ को ११औं वडा अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
दमक-७ स्थित पौडेल बन्धु प्रतिष्ठानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगर प्रमुख रामकुमार थापा रहनुभएकाे थियोे ।
कार्यक्रमका क्रममा राप्रपाको स्थापना कालदेखि योगदान पुर्याएका ५० भन्दा बढी ज्येष्ठ अभिभावकहरूलाई खादा, माला, अबिरसहित सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै, अधिवेशनको अवसरमा ६० जनाले पार्टी प्रवेश गरेका छन्।
वडा अध्यक्ष भीमप्रसाद पौडेलका अनुसार, दमक नगरपालिकाले ५ कक्षासम्म निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ भने पृथ्वा माध्यमिक विद्यालयले विपन्न विद्यार्थीहरूको आवश्यकतालाई ध्यानमा राख्दै ७ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ। हाल वडा नं. ७ मा ८, ९ र १० कक्षामा अध्ययनरत ८३ जना विद्यार्थीहरूले निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन्।
कार्यक्रमका विशिष्ट अतिथि राप्रपा झापा अध्यक्ष केशव ओझा, क्षेत्रीय अध्यक्ष भीमप्रसाद पौडेल, नगर अध्यक्ष हेम सुवेदी, प्रदेश सदस्य, जिल्ला पदाधिकारी, नगर पदाधिकारी तथा विभिन्न जनवर्गीय संगठन (युवा, महिला, ट्रेड युनियन, स्वास्थ्य) का पदाधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता विक्रम सुब्बा खामदेनले गरेका थिए। अधिवेशनले शिक्षा, विकास, तथा पार्टी संगठन सुदृढीकरणका विविध विषयमा छलफल गर्दै भावी कार्ययोजना तय गरेको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



