झापा ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सिमाना आसपास छ । उक्त रेखा आज रातिबाट अझै नेपालतर्फ सर्ने सम्भावना छ । भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ ।
त्यसैले यी दुवै प्रणालीको प्रभावले आज असार २६ गते रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको मौसमविद झाले जानकारी दिए ।
यस वर्षको मनसुन २८ जेठ अर्थात् १० जुनमा कोशी प्रदेशमा भित्रिएको थियो । सरदर मितिभन्दा तीन दिन छिटो नेपाल भित्रिएको मनसुन असार १० गते अर्थात् २४ जुनमा सुदूरपश्चिम प्रदेशभर फैलिएको थियो ।मनसुन भित्रिएदेखि हालसम्मको अवधिमा देशभर ८१ जनाको मृत्यु भइसकेको छ ।
यस वर्ष मनसुन अवधिमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण भएकाले बाढी पहिरो र डुबानको समस्या बढ्ने सम्भावना छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने आकलन गरेको छ ।