लागुऔषधको जालो तोड्न डीआईजी थपलियाको एक्सन

Share

झापा/मधेस प्रदेशमा केही वर्ष यता लागुऔषध दुर्व्यसन गम्भीर सामाजिक समस्याको रूपमा देखा पर्दै गएको छ । विशेषगरी भारतसँगको खुला सीमाका कारण लागुऔषध भित्रिने क्रम बढेको र त्यसको असर युवापुस्तामा परिरहेको देखिन्छ । तर प्रदेश प्रहरी प्रमुख डीआइजी गोविन्द थपलियाले अभियानलाई प्रभावकारी बनाउन आठ वटै जिल्लाका प्रहरी प्रमुखलाई स्पष्ट निर्देशन दिएका छन् । उनका अनुसार लागुऔषध नियन्त्रणका लागि अब परम्परागत तरिकाले मात्र सम्भव छैन । त्यसैले पहिचान, निगरानी, नियन्त्रण र सुधारलाई सँगै अगाडि बढाइने उनको भनाइ छ ।

गाउँदेखि सहरसम्मका युवा दुर्व्यसनमा फस्दै जाँदा परिवार, समाज चिन्तित बनेका छन् । यही अवस्थालाई ध्यानमा राख्दै मधेस प्रदेश प्रहरीले लागुऔषध नियन्त्रणमात्र नभई सेवनकर्ताको सुधार र पुनर्स्थापनालाई केन्द्रमा राखेर ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३’ सुरु गरेको छ ।

मधेस प्रदेश प्रहरीका सूचना अधिकारी कमल थापाका अनुसार यो अभियानको मुख्य उद्देश्य लागुऔषध सेवनकर्तालाई पक्राउ गरेर कारबाही गर्नु मात्र होइन, उनीहरूको पहिचान गरी सुधार केन्द्रसम्म पुर्‍याउनु र समाजमा पुनर्स्थापित गर्नु पनि हो ।

लागुऔषध समस्या केवल कानुनी मुद्दा मात्र नभई सामाजिक र मानसिक समस्याको रूपमा फैलिँदै गएको थापाले बताए ।

मधेस प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सिराहा, पर्सा लगायत सीमावर्ती जिल्लामा लागुऔषधको समस्या बढी देखिएको छ । यी क्षेत्रमा भारतसँगको खुला सीमाका कारण ओसारपसार सजिलै हुने गरेको प्रहरीको निष्कर्ष छ । साना नाकादेखि अनधिकृत बाटो प्रयोग गरी लागुऔषध भित्र्याउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार सीमाबाट भित्रिने लागुऔषध सिधै युवाहरूको हातमा पुग्ने गरेको छ । विद्यालय र कलेज पढ्ने उमेरका किशोरकिशोरीहरू नै यसको बढी सिकार बन्दै गएको उनले बताए ।

साथीभाइको दबाब, बेरोजगारी, पारिवारिक समस्या र जिज्ञासाले सुरु भएको सेवन बिस्तारै लतमा परिणत हुने गरेको उनको भनाइ छ ।

ताजा समाचार