सुजन गाैतम – दमक / आधुनिक विकासका नाममा लिम्बू समुदाय आन्तरिक र बाह्य रूपमा कसरी विस्थापित हुँदै गएका छन् भन्ने विषयलाई उजागर गर्ने लिम्बू भाषाको चलचित्र ‘चे’ (अर्थात् लास) फागुन २६ गते दमकस्थित डिम्याक्स सिनेमा हलमा विशेष रूपमा प्रदर्शन गरिने भएको छ।
माङ्गेन्ना पब्लिकेशन मिडिया प्रालि र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले शनिबार पत्रकार सम्मेलन गर्दै चलचित्रको विशेष प्रदर्शनीको घोषणा गरेको हो। चलचित्रका लेखक, निर्देशक तथा निर्माता सागर केरुङका अनुसार चलचित्रमा थाक्थुङ (लिम्बू) समुदायको लास समाधि स्थल आधुनिक विकासका नाममा नासिँदै गएको विषयलाई सांस्कृतिक गाम्भिर्यताका साथ प्रस्तुत गरिएको छ।
उनका अनुसार ‘चे’ सांस्कृतिक सम्पदाहरू संरक्षण गर्नेहरू र आधुनिकताको नाममा तिनलाई नष्ट गर्नेहरूको द्वन्द्वमा आधारित कथा बोकेको चलचित्र हो। चलचित्र पाँचथर क्षेत्रका विभिन्न स्थानमा छायांकन गरिएको छ।
चलचित्रमा सागर केरुङ, विमला खजुम, यासेली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलिङ, प्रतिभा लिम्बू लगायत कलाकारहरूको अभिनय रहेको छ।
सन् २०२१ (वि.सं. २०७८) को जनगणना अनुसार नेपालमा लिम्बू समुदायको जनसंख्या करीब ३ लाख ५० हजार रहेको छ। चलचित्रले लिम्बू समुदायको पहिचान, संस्कृति र परम्परागत चिहानस्थल संरक्षणको विषयलाई प्रभावकारी रूपमा उठाउने विश्वास गरिएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



