झापा/नेकपा एमालेले जिल्ला अधिवेशनमा प्रतिनिधित्वका मापदण्ड तय गरेको छ । एमाले महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्दै जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौटको मापदण्ड तय गरेका हुन् ।
एमाले केन्द्रले जिल्ला र प्रदेश कमिटीलाई पठाएको परिपत्र अनुसार जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौटको आधार पालिकाका वडालाई बनाउनु पर्ने छ । यस्तै विशेष कमिटीको हकमा भने शाखा कमिटीलाई बनाउनुपर्ने छ । प्रमाणीकरण गरिएको सदस्यहरूको सूचिका आधारमा प्रतिनिधि छनौटको मापदण्ड बनाई प्रतिनिधि छनौट गर्नुपर्ने परिपत्रमा भनिएको छ ।
एमालेले प्रतिनिधिहरूको संख्या अनुपात र प्रक्रिया समयमै जिल्ला कमिटीले निश्चित गर्नुपर्ने, प्रत्येक वडाबाट तीन जनामा कम्तीमा एक महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, जिल्ला कमिटीमा कम्तीमा १५ प्रतिशत ४० वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व गर्नुपर्ने निर्देशन यसअघि नै दिएको थियो । एमाले विधान अनुसार जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरू आयोजकका साथै प्रतिनिधि पनि हुनेछन् ।
‘जिल्ला संगठन कमिटीको हकमा भने कमिटीका पदाधिकारी र सदस्यहरू पनि प्रतिनिधि हुनका लागि पार्टी सदस्यहरूबाट चुनिएर आउनुपर्नेछ । प्रतिनिधि नरहेका सङ्गठन कमिटीका पदाधिकारी र सदस्यहरू आयोजकका रूपमा मात्र अधिवेशनमा सहभागी हुनेछन्’, परिपत्रमा भनिएको छ,’जिल्ला वा पालिका निर्वाचन क्षेत्र बनाई उपयुक्त अनुपातमा दलितलगायत सम्बन्धित जिल्लाको विशेषताअनुसारको समावेशी प्रतिनिधित्व गराउने । त्यसो गर्दा कुनै एक क्लस्टरको मात्र मातदाता र उम्मेदवार हुन पाउने व्यवस्था मिलाउने । एमाले जिल्ला अधिवेशनमा जनसंगठनबाट नियमावलीमा गरिएको वर्गीकरणअनुसार प्रतिनिधित्वको व्यवस्था मिलाउने ।’
उम्मेदवारहरुको मापदण्ड
एमालेले जिल्ला कमिटीका लागि उम्मेदवारहरुको मापदण्ड पनि तोकेको छ । जसका लागि केन्द्रले परिपत्र गर्दै पार्टीको विधान अनुसार जिल्ला र सो मातहतका कमिटीको पदाधिकारी तथा सदस्य पदका लागि उम्मेदवार हुने मापदण्ड तोक्ने अधिकार सम्बन्धित तहको अधिवेशनलाई प्रदान गरिएको भएपनि कतिपय ठाउँमा मापदण्ड नतोकी अधिवेशन गर्ने गरेकाले केन्द्रले नै तोकेर पठाएको एमालेले जनाएको हो ।
महासचिव पोखरेलले जारी गर्नुभएको परिपत्र अनुसार जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन पार्टी सदस्य भएको ५ वर्ष पुगेको हुनुपर्ने छ । यस्तै एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सो सरहको भूमिका निर्वाह गरेको हुनुपर्ने छ ।
जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको ३ वर्ष पुरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने परिपत्रमा उल्लेख छ ।
यस्तै प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने यसअघिको केन्द्रीय कमिटीले निर्देशन दिएको थियो ।