झापा/कमल गाउँपालिकामा सञ्चालन भइरहेको राष्ट्रिय पोषण लेखाजोखा अभियान अहिले तीव्र रूपमा समुदायस्तरमा विस्तार भइरहेको छ। बालबालिका तथा आमाको पोषण अवस्था पहिचान गर्दै कुपोषण रोकथाम र व्यवस्थापन गर्ने उद्देश्यले गाउँपालिकाले ८ स्वास्थ्य संस्थामार्फत ७ वटै वडाका बस्ती, टोल र समुदायमा अभियान सञ्चालन गरिरहेको जनाएको छ।
वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत ‘सुनौलो हजार दिन’का आमा तथा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गरिएको छ। स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू घरदैलो, शिविर, विद्यालय, खोप केन्द्र तथा सामुदायिक भवनमार्फत पोषण परीक्षणमा सक्रिय छन्।
अभियानमार्फत करिब ४ हजार बालबालिका र १ हजार ४ सय आमाको पोषण परीक्षण गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ। परीक्षणका क्रममा उचाइ, तौल, MUAC तथा Oedema परीक्षण गरी कुपोषण जोखिम पहिचान, परामर्श र आवश्यक उपचार सेवामा जोड्ने व्यवस्था गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार अभियानअघि स्वास्थ्यकर्मी र स्वयंसेविकालाई विशेष तालिम प्रदान गरिएको थियो, जसले पोषण परीक्षण र जोखिम मूल्याङ्कनलाई अझ प्रभावकारी बनाएको छ।
गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले बालबालिकाको पोषणलाई स्वस्थ समाज र सुरक्षित भविष्यसँग जोडिएको दीर्घकालीन अभियानका रूपमा व्याख्या गर्दै भन्नुभयो, “बालबालिकाको स्वास्थ्य सुरक्षित भए मात्रै भविष्य सुरक्षित हुन्छ। कुनै पनि बालबालिका परीक्षणबाट वञ्चित नहोस् भन्ने लक्ष्यका साथ हामी समुदायमै पुगेका छौँ।”
स्थानीय अभिभावकको उत्साहजनक सहभागितासँगै अभियानले कमल गाउँपालिकामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै कुपोषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।












What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



