झापा/नेकपा (एमाले) को नवौं केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न भएको छ। ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका छन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदनमाथि छलफल भएको छ। गण्डकी, मधेस, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीबाट आएका केन्द्रीय सदस्यहरूले तीन मिनेटको समय पाउँदै धारणा राखेका थिए।
बैठकमा अधिकांश सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत रुपमा आएको विधान संशोधन प्रस्तावलाई समर्थन जनाएका छन्। यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको विषय पनि बैठकमा उठेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
बैठकमा बहसका विषयहरू संकलन तथा नोट लेखनका लागि पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य रहने गरी कमिटी गठन गरिएको छ।
पार्टी स्रोतका अनुसार एमालेको नवौं केन्द्रीय कमिटीको यो बैठक भोलि (६ साउन) पुनः बिहान ११ बजे बस्नेछ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



