नेपाल–भारत आउजाउमा परिचयपत्र अनिवार्य

ताजा समाचार देश


झापा /परिचयपत्र बाहक यात्रुलाई मात्रै नेपाल–भारत आवागमन गराउन सरकारले परिपत्र गरेको छ । पहलगाममा एक नेपालीसहित २६ पर्यटकको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणसँगै भारत–पाकिस्तान युद्धमा उत्रिएपछि सिर्जित परिस्थितिलाई दृष्टिगत गरी गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सीमा जोडिएका दक्षिणतर्फका नाकाबाट आवागमन गर्दा यात्रुलाई परिचयपत्र अनिवार्य गरेको हो ।भारततर्फका अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विशेष निगरानी बढाउन गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र दक्षिणतर्फ सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहको परिपत्रपछि नेपाल प्रहरी र सशस्त्रले सीमा नाकामा सुरक्षा गस्ती र जाँच पनि बढाएका छन् ।
सशस्त्रका साढे दुई सय बोर्डर आउट पोस्ट (बीओपी) मार्फत सीमा सुरक्षार्थ जनशक्ति तैनाथ गराइएको छ । प्रहरीका ६० भन्दा बढी सीमा इलाका युनिटमार्फत सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा जनशक्ति तैनाथ छन् । यसका अतिरिक्त पछिल्लो घटनाक्रमपछि अरू युनिटबाट पनि दुवै संगठनले सीमा क्षेत्रमा गस्ती बढाएका हुन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत–पाकिस्तान बढ्दो तनाव र त्यसबाट नेपाललाई पर्न सक्ने असरका विषयमा चारवटै सुरक्षा निकायका अधिकारीले ब्रिफिङ गरेका थिए । त्यसअघि केन्द्रीय सुरक्षा समिति बैठकमा घटनाक्रमबारे समीक्षासमेत गरिएको थियो ।प्रधानमन्त्रीलाई ब्रिफिङ र गृहमन्त्री रमेश लेखकसहितको सुरक्षा बैठकपछि गृह मन्त्रालयले भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी सीमाबाट आवागमन गर्दा परिचयपत्र अनिवार्य गराएर यात्रुको गन्तव्य खुल्ने गरी अभिलेख राख्न भनेको हो ।
पछिल्लो विकसित घटनाक्रमलाई विश्लेषण गरेर सीमाक्षेत्रमा आवश्यक सुरक्षा सावधानी अपनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जनाए ।
भारत–पाकिस्तान तनावबारे शुक्रबार सैनिक मुख्यालय जंगीअड्डामा पनि सुरक्षा अधिकारीबीच समीक्षा बैठक बसेको थियो । बैठकमा सबै निकायले आ–आफ्ना तर्फबाट तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने निष्कर्ष निकालिएको स्रोतको भनाइ छ । सीमा क्षेत्रमा अनुमतिबिना प्रवेश गर्न सक्ने जोखिमलाई ध्यानमा राखेर जिम्मेवारी निर्वाह गर्न मातहत संयन्त्रलाई अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले निर्देशन दिइएको जनाए ।
यही वैशाख ९ मा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा पर्यटकमाथि आतंकवादी समूहले गरेको आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच उत्पन्न तनाव अहिले आक्रमणम–प्रत्याक्रमणमै प्रवेश गरेको छ ।दुई देशबीच द्वन्द्व चर्किंदै जाँदा नेपालमा पनि घूसपैठ हुन सक्ने जोखिम आकलन गर्दै सरकारले हवाई र स्थल गरी दुवै अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट हुने आवागमनमा सावधानी अपनाएको हो ।
पहलगाम घटनासँगै भारत र पाकिस्तानबीच उत्पन्न असहज परिस्थिति र दुई देशबीच सैनिक तहमै एकअर्काविरुद्ध ड्रोन र लडाकु विमानबाट हानाहान सुरु भएपछि नेपाल सरकारले ती देशका रहेका नेपालीलाई सुरक्षित ठाउँमा रहन यात्रा निर्देशन (ट्राभल एडभाइजरी) जारी गरेको छ । त्यहाँ रहेका नेपालीलाई कुनै समस्या परे तत्काल सम्पर्क गर्न पनि सरकारले अनुरोध गरेको छ ।दिल्लीस्थित नेपाली राजदूतावासले शुक्रबार दिउँसो सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । भारत सरकारका आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशन पालना गर्न पनि दूतावासले भनेको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *