देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

ताजा समाचार स्वास्थ्य

झापा /सरकारले शनिबार र आइतबार देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने भएको हो ।यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

पोषण शाखाका प्रमुख लिला विक्रम थापाका अनुसार देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ ।‘हामीले ७५३ वटा स्थानीय तहमा बजेट पठाइसकेका छौं,’ थापाले भने, ‘स्थानीय तहले आफूलाई पायक पर्ने जस्तै स्कुल, स्वास्थ्य चौकी वा कुनै सामुदायिक भवनमा राखेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनु हुनेछ ।’भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।
पछिल्लो अध्ययनले पाँच वर्षभन्दा मुनिका बालबालिका मध्ये ११ प्रतिशतलाई भिटामिन ‘ए’ कमी भएको देखिएको छ । ‘यो जनस्वास्थ्य मध्यम समस्याको रुपमा रहेको छ । अझै पनि बालबालिका रगतको भिटामिनमा ‘ए’ कमी छ’, थापा भन्छन्, ‘भिटामिन ‘ए’ प्राप्त हुने स्रोत बालबालिकाले कम खाएको देखिन्छ ।’
यो कार्यक्रम हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशैभर जिल्लामा सञ्चालन हुँदै आएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *