दमक/ काठमाडौंमा शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ ।महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।
यसैबीच ,पत्रकार रजक हत्याको विरोधमा शनिबारनै विर्तामोडमा विरोध प्रदर्शन गरेको छ । उनीहरुले पत्रकार रजकको हत्यारा र सञ्चारगृहमा आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने नारावाजी गरि रयाली निकाले ।बिर्तामोडको हनुमान सेन्ट्रलबाट शुरु भएको र्याली पश्चिम क्षेत्र ,इलाका प्रहरी कार्यालय जाने बाटो हुँदै मुक्तिचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभामा महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले महासंघले आफनो स्थापना दिवसलाई पत्रकारको सुरक्षाका विषयमा आन्दोलित हुनुपरेको चर्चा गरे । पत्रकार रजकको हत्याको घटना प्रति देशभरिका पत्रकारहरु आन्दोलित भएको भन्दै उनले आन्दोलन अन्तर्गत चैत १७ गते पत्रकारले बिरोध स्वरुप कालोपट्टी बाँधेर कार्य गर्ने र चैत १८ गते झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए ।
विरोध सभामा सहभागि पत्रकारहरुले हत्या गरिएका पत्रकार रजकले न्याय नपाउन्जेल र सञ्चारगृह आक्रमण गर्नेलाई कारवाही नभएसम्म चरणवद्ध आन्दोलन नरोकिने उल्लेख गरे । मानव अधिकार सञ्जाल झापाले पनि महासंघ झापाले गरेको बिरोध प्रदर्शनमा ऐक्यवद्धतासमेत जनाएको छ ।कोण सभामा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाँई, मोहनकाजी न्यौपाने, गणेश पोखरेल, तारामणि सापकोटालगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघ झापाका सचिव प्रदीप परियारले गरेका थिए ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



