झापा /राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे रास्वपा कानुनी छलफलमा जुटेको छ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले कानुनले गरेको व्यवस्थाबारे सांसद सोविता गौतम नेतृत्वको कानुन समितिले अध्ययन गरिरहेको भन्दै अध्ययनपछि के गर्ने भन्ने निर्णयमा पुगिने भएपनि अहिले कुनै निर्णय भइनसकेको जानकारी दिए ।
सभापति लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।
उनीविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन, २०६४ को दफा २७ बमोजिम सांसद पदबाट निलम्बन गर्न संघीय संसद् सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछानेको सांसद पद निलम्बन भएको सूचना सोमबार निकालेको छ । यसअघि रास्वपा सांसदले लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका थिए ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



