झापा ।
झापाको दमक नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाबाट चालू आर्थिक बर्षमा भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
दमक नगरपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा १५० जना बढीको उपस्थिति थियो । कार्यक्रममा ४० भन्दा बढी नागरिकले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
उनीहरुले पूर्वाधार विकास, सडक निर्माण, खानपानी व्यवस्थापन, शिक्षा, स्वास्थ्यलगायत विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहका विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।सेवाग्राहीको प्रश्नको जवाफ नगरपालिकाका मेयर रामकुमार थापाले दिनुभएको थियो ।
कार्यक्रममा मेयर थापाले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । मेयर थापाले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।साथै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।
जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।कार्यक्रमको सहजीकरण नगरपालिकाका कर्मचारी बाबुराम निरौलाले गर्नुभएको थियो ।

Share