झापा ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् ।
कोशीमा नयाँ सरकार गठन भएपछि प्रदेश प्रमुखले प्रदेशसभा अधिवेशन आह्वान गरेर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दिइसकेका छन् । कार्कीलाई एमालेसहित नेकपा माओवादी र जनता समाजवादी पार्टीका सांसदले विश्वासको मत दिनेछन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबारका लागि बोलाइएको प्रदेशसभा बैठक कांग्रेसले बहिष्कार गर्ने भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बहिष्कारको मोडालिटीबारे सोमबार बिहान ८ बजे बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने बताए ।
कांग्रेसले सर्वोच्च अदालतमा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री कार्कीसहितलाई विपक्षी बनाएर दायर भएको मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म विश्वासको मत लिन नहुने कांग्रेसको भनाइ छ ।
उता, नेपाली कांग्रेसकै असहमतिका कारण आइतबारका लागि डाकिएको कार्य व्यवस्था परामर्श समितिको बैठकले कुनै निर्णय गर्न सकेन । विश्वासको मत लिने विषयमा कांग्रेसले निर्णय गर्न नसक्ने अडान राखेपछि बैठक सोमबार बिहान १० बजे बस्ने गरी स्थगित भएको छ ।
यसैबिच सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला विश्वासको मत लिन खोजेको भन्दै एकीकृत समाजवादीले भने कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनुपस्थिति रहने जनाएको छ ।
एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले अदालतमा मुख्यमन्त्रीकै विरुद्धको मुद्दा विचाराधीन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको बताए ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गरिनसकेको बताएका छन् । दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दलले सोमबार बिहान बैठक बसेर निर्णय दिने बताए ।
जसपा नेपालकी सांसद निर्मला लिम्बूले भने आफूले सरकारलाई विश्वासको मत दिने बताइन् ।
एमालेका उपसभामुखसहित ४० र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीको नियुक्ति प्रक्रियाका विरुद्धमा कांग्रेस सांसद तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । उक्त रिटको अन्तिम सुनुवाइ अदालतले जेठ ९ गतेका लागि तोकेको छ ।
कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपा नेपालका १ सांसद छन् । जसपा नेपालकी सांसद निर्मला लिम्बूले केन्द्रमा पार्टी विभाजन भए पनि अहिले कुन दल रोज्ने भन्ने निर्णय गरिनसकेको बताएकी छिन् ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



