झापा — रंगहरूको पर्व होली आज तराईका जिल्लाहरुमा हर्सोउल्लासका साथ मनाइदैंछ । भौगोलिक संरचना र मान्यताअनुरूप होली मनाउने चलन छ । पहाडी जिल्लामा हिजो नै होली मनाइएको छ भने तराईका जिल्लाहरूमा आज होली मनाइँदै छ ।होलीका अवसरमा सरकारले आज झापा सहित तराईका जिल्लाहरुमा सार्वजनिक विदा दिएको छ । स्थानअनुसार मनाइने फागु पुर्णिमाको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ पनि भानिन्छ ।
आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन, नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन । हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।
यसैबीच झापामा होलिमा कुनै अप्रिय घट्ना हुन नदिन आज पाँच सय प्रहरी प्रहरी परिचालन गरिदैंछ । होलीलाई मित्रवत पर्वका रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय झापाले आम जिल्लावासीलाई अपिल समेत गरेको छ । होलीका लागि छुट्टै सुरक्षा रणनीति बनाएको बताउँदै झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले भन्नुभयो, ‘आज बिहानदेखि जिल्लाभर ट्राफिकसहित ५ सय प्रहरी परिचालन हुन्छ । विशेष गरी मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेलमेट नलगाउने र तीन जना सवार हुने मोटरसाइकलमाथि निगरानी बढाएर तत्काल नियन्त्रणमा लिन जिल्लाभरका इञ्चार्जहरूलाई निर्देशन दिइसकेका छौँ।’
होलीको अवसरमा झापाका विभिन्न चोकमा खुल्ला सडकमा नै होलीको उल्लासमा रमाउने, नाचगान गर्ने गरी तयारी गरिएको बुझिएको छ भने विभिन्न सामाजिक संघ संस्थाहरुले सामुहिक रुपमा होलीको कार्यक्रम समेत आयोजना गरेका छन ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



