झापा गोल्डकप: त्रिभूवनको संर्घषपूर्ण जित

Share


दमक —त्रिभुवन आर्मी फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबविरुद्ध २–१ को जित निकाल्दै चार पटकको विजेता आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागि खेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठ र ८० औं मिनेटमा बसन्त जिम्बाले गोल गर्दे जित दिलाएका हुन् ।
दुईपटकको ए डिभिजन लिग बिजेता मच्छिन्द्रले खेलमा सुरुवाती अग्रता लिएको थियो । मच्छिन्द्रका लागि खेलको ११ औँ मिनेटमाा हिसुब थपलियाको उत्कृष्ट पासमा विदेशी खेलाडी स्टेफन्स विनोङ्सले गोल गरे । तर, अग्रतालाई जोगाउन नसक्दा मच्छिन्द्रले पराजय भोग्नु परेको हो । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग शुक्रबार खेल्नेछ । खेलको अफ द म्याच आर्मीका बसन्त जिम्बा भए । उनले नगद ११ हजार प्राप्त गरे ।
२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैटौं संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बिनोद बस्नेतले जानकारी दिए । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

ताजा समाचार