झापा/यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि एकै समयमा सञ्चालन भइरहेको छ।
यस वर्ष एसइईलाई थप पारदर्शी, व्यवस्थित र छिटो नतिजा प्रकाशन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका लागू गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले परीक्षा सञ्चालन गरिरहेको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ। यस वर्ष कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका छन्। तीमध्ये चार लाख ४१ हजार ५६६ नियमिततर्फ र ७० हजार ८५५ ग्रेड वृद्धितर्फका परीक्षार्थी रहेका छन्।
यस वर्ष छात्राको सङ्ख्या छात्रभन्दा बढी रहेको छ। परीक्षामा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना सहभागी भएका छन्। साथै जापानको एक केन्द्रबाट २३ जनाले पनि परीक्षा दिइरहेका छन्।
परीक्षालाई सुरक्षित र व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा प्रहरी, केन्द्राध्यक्ष, निरीक्षक तथा अन्य कर्मचारीको व्यवस्था गरिएको छ।
यस वर्ष उत्तरपुस्तिका परीक्षणलाई छिटो बनाउन नयाँ प्रबन्ध गरिएको छ। परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सक्ने लक्ष्य राखिएको छ। साथै परीक्षण केन्द्रमै बसेर परीक्षण गर्नुपर्ने, मोबाइललगायत विद्युतीय उपकरण प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
अनियमितता रोक्न उत्तरपुस्तिका बाहिर लैजान निषेध गरिएको छ भने लापरवाही गर्ने परीक्षकलाई कारबाही गरिने जनाइएको छ।
यसैबीच, परीक्षा केन्द्रमा भीडभाड र अवरोध हुन नदिन सामूहिक अनुगमनमा रोक लगाइएको छ। प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।
आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



