झापा /पूर्वमन्त्री एवं प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नी खरेलले तीनकुने घटनाको लागि न्यायिक छानबिन समिति गठन नहुने बताएका छन् ।
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले न्यायिक छानबिन समिति गठनको माग गरिरहेको सम्बन्धमा उनले त्यस्तो न्यायिक समिति नबन्ने बताएका हुन् । बिर्तामोडस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयको सभाहलमा प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री खरेलले तीनकुने घटनाको सरकारी संयन्त्रहरुले निष्पक्ष छानबिन गर्ने बताए । नेता खरेलले तीनकुने घटना अत्यन्तै हिंस्रक र अराजक भएकोले सरकारले यसलाई गम्भीरतापूर्वक लिएको भन्दै सरकारको तयारी राम्रो हुँदाहुदै पनि आन्दोलनकारीहरु अनियन्त्रित भई प्रहरीको ब्यारिकेट तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि मात्र प्रहरीले बल प्रयोग गरेको दाबी गरे ।
राजतन्त्रको आन्दोलनका क्रममा भएको तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले जिम्मेवारी लिनु पर्ने भन्दै उनले उक्त घटनाप्रति अहिलेसम्म कुनै पनि प्रकारको बिज्ञप्ति सार्वजनिक नहुनु, दुःख ब्यक्त नगर्नु बिडम्बना भएको प्रतिक्रिया दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको भन्दै अनावश्यक टिप्पणी गर्न नहुने खरेलको भनाई थियो । प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमालेका झापा जिल्ला इन्चार्ज रोमनाथ ओली, जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीको पनि उपस्थिति रहेको थियो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



