झापा /सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) सरकार सञ्चालन र संसद् प्रभावकारी बनाउन तथा संविधान संशोधनका लागि छुट्टाछुट्टै तीन वटा विषयगत कार्यदलमार्फत द्रुतत्तर गतिमा अघि बढाउने समझदारीमा पुगेका छन् ।
कांग्रेस र एमालेका शीर्षनेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकार, संसद् र संविधान संशोधन कार्यलाई दृष्टिगत गरी तीन वटा कार्यदल गठन गर्ने निर्णय भएको हो । कांग्रेस उपसभापति एवं संयन्त्रका संयोजक पूर्णबहादुर खड्काले संविधान संशोधनसम्बन्धी कार्यदलबाहेक दुई कार्यदल गठन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार संविधान संशोधनसम्बन्धी कार्यदलमा कांग्रेस–एमालेका पूर्वसांसदसहित कानुनविद् सम्मिलित रहने छन् ।
उपसभापति खड्काका अनुसार विचाराधीन विधेयकसहित संसद्लाई प्रभावकारी बनाउने सन्दर्भमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले सचिव योगेश भट्टराईसँगै कांग्रेस एमालेका संसदीय दलका मुख्य सचेतक र सचेतक तथा राष्ट्रिय सभाका प्रमुख सचेतक गरी आठ जना सदस्य रहनुहुने छ ।
उपसभापति खड्काले सेवा प्रभावसँग सम्बन्धित कार्यदलमा कांग्रेसले वरिष्ठ अधिवक्ता अरुण पौडेल, अधिवक्ता सेमन्त दाहाल र नीति तथा योजनाविज्ञ प्रताप पौडेल रहने बताउनुभयो । त्यसै गरी एमालेले पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, पूर्वमुख्यन्यायाधिवक्ता राजेन्द्र घिमिरे र वरिष्ठ अधिवक्ता केदार कोइरालालाई कार्यदलमा सहभागी गराएको छ ।
सत्तारूढ कांग्रेस र एमालेको उच्चस्तरीय कार्यदलले संविधान संशोधनका लागि आवश्यक तयारी आरम्भ गर्नका लागि संविधान संशोधनसँग सम्बन्धित कार्यदल गठन गर्ने भएको छ ।