गौरादह/झापाको साविक महारानीझोडा गाविसको जग्गाधनी पुर्जा वितरण थालिएको छ । ४८ वर्षदेखि भूमि भएर पनि भूमिहिन भएका गौरादह ४ र ५ का बासिन्दाले अब प्रमाणित नक्सा सहितको धनिपुर्जा प्राप्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गाधनीहरुलाई धनिपुर्जा वितरण गरेका थिए । २०२१, २०२४, २०३४ र २०७२ सालमा बिभिन्न नापी भएपनि उनीहरुले नक्सा प्रमाणित हुन सकेको थिएन् ।पहिलो चरणमा पाँच सय जना जग्गाधनीले प्रमाणपत्र बुझ्ने छन् । प्रधानमन्त्री ओलीले ९ जना जग्गाधनीलाई प्रमाणपत्र वितरण गरेर शुरुवात गरेका थिए । लामो समयदेखि जग्गाको समस्याका कारणले स्थानीयहरु समस्यामा थिए । जग्गा धितो बन्धक नहुने र अन्य व्यवहारिक कठिनाइ समेत हुदै आएको थियो । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले महारानीझोडा जग्गा दर्ता समितिले बिगतका नापीलाई आधार मानेर धनिपुर्जा वितरण गरेको जानकारी दिए । उनका अनुसार समितिलाई केही महिना म्याद थप भए अन्य जग्गा धनीहरुलाई समेत धनिपुर्जा प्रमाणित गरिने थियो । अहिले सम्म १ सय ६७ जना जग्गा धनीको प्रमाणित भएको छ ।कार्यक्रममा मुख्यमन्त्री हिक्मत कार्की, भूमि आयोगका सदस्य अनिलकृष्ण प्रसाईँले भूमि समस्या समाधानको दिसामा गएको बताएका थिए । कुल ७ हजार ५ सय कित्ता जग्गाधनीहरुले यस समितिबाट धनिपुर्जा प्राप्त गर्ने छन् ।