यात्रु बसहरुबीचको प्रतिस्पर्धाले झापामा सवारी दुर्घटना बढे, १० दिनमा ४७ सवारी दुर्घटना, ५ जनाको मृत्यु

Share

झापा ।झापामा यात्रु बसहरुबीचको प्रतिस्पर्धाले सवारी दुर्घटनाका घटनामा बृद्धि भएका छन् । कार्तिक महिनाको एकहप्ताको अबधिका मात्रै झापामा ४७ वटा दुर्घटना भएका थिए । जसमा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ पुरुष र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते र ४९ जना सामान्य घाइते भएका छन् । झापामा यो अवधिमा २ वटा ट्रक, ३ वटा बस, ६ वटा कार जिप, २ वटा ट्याक्टर, ९ वटा टेम्पो, २१ वटा मोटरसाइकल र ४ वटा अन्य सवारीका साधन दुर्घटना भएका थिए ।
बढ्दो सवारी दुर्घटना पछि जिल्ला यातायात व्यवस्थापन समितिले झापामा टाइम कार्ड लगाउने तयारी गरेको छ । सडकमा बसहरुबीच गतिमा प्रतिष्पर्धा बढ्दै गइरहेको दुर्घटना वृद्धि भएको बताइन्छ ।
यसैबीच बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरेर ट्राफिक प्रहरीले चेकजाँच र सचेतनालाई आक्रामक बनाएको छ । नियमित चेकजाँचका अलवा ट्राफिक प्रहरीले बसभित्रै पसेर यात्रुसँग कुराकानी गर्नेदेखि चालक, कर्मचारीहरुलाई ओरालेर नियमका बारेमा जानकारी गराइरहेको छ ।
सर्वसाधारणले यात्रुबाहक बसको लापबारहीका बारेमा धेरै गुनासो गरेपछि ट्राफिक प्रहरीले बसलाई केन्द्रीत गरेर चेकजाँचसँगै सचेत गराइरहेको झापा ट्राफिकका प्रमुख गणेश पौडेलले जानकारी दिए ।
झापामा ‘रातो बस’ को आतंक धेरै भएको सर्वसाधारणको प्रतिक्रिया छ । रातो बसका चालकले लापरबाही गर्ने गरेको अधिकांशको भनाई छ । त्यस्ता बस चालकहरुलाई सचेत गराउने काम भइरहेको ट्राफिक प्रमुखको भनाई छ । तीब्र गति, ध्वनि प्रदूषण र गतिको प्रतिस्पर्धा गर्ने बसहरूमाथि धमाधम कारबाही गरिरहेको जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्दै रातो र हरियो रङका ३३ बसलाई कारबाही गरेको छ । बसका ५५ जना चालक र सहचालकलाई सुरक्षित यात्रा र ट्राफिक नियमको पालना गर्न सचेतना प्रदान गरिएको छ । साथै, ध्वनि प्रदूषण गर्ने बसहरूको प्रेशर हर्नसमेत निकालिएको बताइएको छ ।

ताजा समाचार