वाइड बडी प्रकरणमा कांग्रेस नेता शाहीलगायत ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share

झापा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइड बडी विमान खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्री कांग्रेस नेता जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, तत्कालीन पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

कांग्रेस नेता शाही अहिले कर्णाली प्रदेशसभा संसदीय दलका नेता छन् । उनीविरुद्ध मुद्दा दायर भएसँगै उनी प्रदेशसभा सदस्यबाट स्वतः निलम्बनमा परेका छन् ।

अख्तियारले दुईवटा वाइड बडी विमान खरिदमा भ्रष्टाचार भएको दाबी गरेको छ । अख्तियारले वाइड बडी विमान खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै प्रतिवादीविरुद्ध सोबराबरको बिगो र बिगोबराबरको सजायको माग दाबी लिएर मुद्दा दायर गरेको हो । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर करिब २४ अर्ब रुपैयाँमा एयरबस कम्पनीका दुईवटा वाइड बडी विमान खरिद गरेको थियो ।

ताजा समाचार