कोशीमा कांग्रेसलाई मन्त्रीको नाम टुङ्ग्याउन सकस

Share

झापा /कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसलाई मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको छ ।

कोशीमा कांग्रेसले ४ मन्त्रालय पाएको छ । आकांक्षी धेरै हुँदा मन्त्रीको नाम टुङ्गो लगाउन सकस परेको हो ।

कांग्रेस स्रोतका अनुसार अनुसार ४ मध्ये दुई मन्त्री सभापति शेरबहादुर देउवा समूहबाट हुनेछन् । कृष्णप्रसाद सिटौला र डाक्टर शेखर कोइराला समूहबाट एकरएक जना मन्त्री हुनेछन् ।

२९ सांसद रहेको कांग्रेसको तीनवटा समूहमा आकांक्षीको लर्को छ । आकांक्षी धेरै हुँदा शीर्ष नेतालाई पनि नाम टुङ्गो लगाउन सकस परेको एक आकाक्षीले बताए ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा सरकारमा सहभागी हुनका लागि केन्द्रबाट आउने मन्त्रीको नाम पर्खिरहेको बताउँछन् ।

शनिबार कांग्रेस एमालेबीच सहमति हुँदा आज सरकार विस्तार गर्ने तयारी थियो । तर, कांग्रेसले नाम नदिंदा आज सरकार विस्तारको सम्भावना न्यून छ । सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने थापा बताउँछन् ।

नेपाली कांग्रेस प्रदेश समितिको बैठक आज बस्दैछ । बैठकले एमाले नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय गर्नेछ ।

मन्त्रीको नामका विषयमा भने प्रदेश समितिमा छलफल हुनेछैन । ‘मन्त्रालय ४–४ भागबन्डा गर्ने सहमति छ, अब मन्त्री कसलाई पठाउने भन्ने विषयमा शीर्ष नेताहरु बस्नुहुन्छ, त्यसपछि मात्रै सहभागी बन्ने कुरा हुन्छ,’ उनले भने, ‘ सरकारमा सहभागी हुन समय लाग्छ ।’

सरकार विस्तारका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की भने कांग्रेसले पठाउने नाम पर्खिरहेका छन् । ‘मुख्यमन्त्रीज्यू तयार हुनुहुन्छ, कांग्रेसले नाम दिने बित्तिकै सरकार विस्तार हुन्छ,’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले भन्यो, ‘कांग्रेसबाट नयाँ मन्त्रीको नाम पर्खिरहेका छौं ।’

प्रदेशमा नौं मन्त्रालय छन्, ४ मन्त्रालय मुख्यमन्त्रीले आफैसँग राखेका छन् । चार मन्त्रालयसहित दुई राज्यमन्त्री कांग्रेसले पाउनेछ ।

शनिबारको छलफलमा एक(एक जना राज्यमन्त्री पठाउने सहमति भएपनि कांग्रेसले दुई जना राज्यमन्त्री पठाउने प्रस्ताव गरेको छ । यो प्रस्तावमा मुख्यमन्त्री कार्की सकारात्मक छन् ।

कोशी प्रदेशमा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा समूहबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेन सिंह हाङ्गामलगायत सांसद मन्त्रीको आकांक्षी छन् ।

कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई मन्त्रीको दौडमा छन् । पराजुली विराटनगर महानगरपालिकाको पूर्वमेयर हुन् । राई खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका पूर्वअध्यक्ष हुन् ।

डाक्टर शेखर कोइराला समूहबाट गोविन्द गिरी, मानबहादुर लिम्बु, समशेर राई, इन्दीरा थापालगायत मन्त्रीको आकाक्षी छन् । कोइराला समूहबाट मानबहादुरलाई मन्त्री बनाउन शुनिल शर्माले पनि दबाब बढाइरहेका छन् ।

प्रदेशमा नेपाली कांग्रेले भौतिक पूर्वाधार, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय पाउने टुङ्गो लागिसकेको छ ।

तीन मन्त्रालय यसअघि माओवादी केन्द्रको भागमा थियो । माओवादीले सरकार छाडेका तीन बाहेक कृषि र सामाजिक विकास मन्त्रालयमध्ये एक मन्त्रालय कांग्रेसले रोजेर लिनेछ ।

ताजा समाचार