झापा /झापाको गौरादह नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा कटौति गर्ने भएको छ । नगरपालिकाको तेह्रो नगर सभामा नगरपालिकाकी उपप्रमुख जलवर्षा राजबंशी चौधरीले प्रशासनिक खर्च कटौति गर्ने प्रस्ताव पेश गरेकी थिइन् ।
नगरपालिकाका जनप्रतिनिधिले मासिक एक पटकको मात्रै बैठक भत्ता प्राप्त गर्ने गरि उनले सभामा प्रस्ताव लगेकी छिन् । यस अघि मासिक २ वटा बैठक भत्ता जनप्रतिनिधिले बुझ्दै आएका थिए । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले नागरिकको सुझावलाई ध्यान दिदै सुविधा कटौति गर्ने निर्णय गरिएको बताए । उनका अनुसार वडा स्तरमा भएका जनतासँगको अन्तकृयाका क्रममा आएका सुझावलाई ध्यान दिदै अब जतिवटा बैठक बसे पनि एउटा मात्रै बैठकको भत्ता पाइने छ । सुवेदीका अनुसार नगर सभामा चालु खर्चलाई घटाउदै पुजिँगत खर्चमा जोड दिइने बताए ।
गौरादह नगरपालिकाका ५० जना जनप्रतिनिधिले अब मासिक एउटा भत्ताको मात्रै रकम पाउने छन् । नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जनताको सेवामा क्रियाशिल जनप्रतिनिधिले जनताको सेवा सुविधामा मात्रै ध्यान दिनुपर्ने बताए । उनले सभाले अन्य धेर्रै प्रशासनिक खर्च कटौति गरि भौतिक निर्माणमा केन्द्रीत गर्ने निर्णय गर्ने विश्वास ब्यक्त गरे । नगर सभाको तेस्रो बैठक माघ ९ गते बस्दै छ ।

Share