झापा /पाँचथरमा बिहीबार साँझ टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । फिदिम नगरपालिका १ र ११ को संगमस्थल फेमेखोला पुलमा भएको दुर्घटनामा टिपर चालकसहित दुई जना घाइते भएका हुन् ।
नांगीनदेखि फिदिम आउँदै गरेको ना ८ ख २२६ नम्बरको टिपर साँझ पौने ५ बजेतिर अनियन्त्रित भइ फेमेखोला पुलबाट तल खेतमा खसेको थियो ।
दुर्घटनामा धनकुटा पाख्रीबास घर भई हाल सुनसरी धरान उपमहानगरपालिका(१३ बस्ने ३२ वर्षीय अशोक रानामगर र फिदिम(११ धुसेनीका २४ वर्षीय प्रताप दर्नाल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुश्वाहले जानकारी दिए ।
चालकको दाहिने खुट्टा भाँचिएको छ भने अनुहारमा चोट लागेको छ । दर्नालको शरीरमा सामान्य चोट लागेको छ । घाइते दुवै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।