दमक/ विद्यार्थीहरूमा सुरक्षित, स्वस्थ र गुणस्तरीय खानपान सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले दमक नगरपालिकाले सञ्चालन गरेको विद्यालय लक्षित खाद्य सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाले सामुदायिक तथा संस्थागत गरी दमकका ४० वटा विद्यालयमा सञ्चालन गरेको उक्त कार्यक्रम सोमबार दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा सम्पन्न भएको हो । विद्यार्थीहरूलाई खाद्य सुरक्षाको महत्व, स्वस्थ खानपानका अभ्यास, खाद्यजन्य रोगबाट बच्ने उपाय तथा दैनिक जीवनमा अपनाउनुपर्ने सरसफाइ सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको शुभारम्भ गत जेठ ४ गते दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले गर्नुभएको थियो । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले स्वस्थ नागरिक निर्माणका लागि बालबालिकादेखि नै सही खानपान र खाद्य सुरक्षाबारे सचेत गराउन आवश्यक रहेको बताउनुभएको थियो । दमक नगरपालिका खाद्य संरक्षण अधिकृत लक्ष्मी न्यौपानेका अनुसार विद्यालय तहबाटै खाद्य सुरक्षासम्बन्धी व्यवहारिक ज्ञान दिन सके भविष्यमा स्वस्थ र जिम्मेवार नागरिक तयार गर्न सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको हो । उहाँले विद्यार्थीहरूमा सही खानपानको बानी विकास गर्नुका साथै खाद्य पदार्थको गुणस्तर, प्रयोग मिति, सरसफाइ तथा पोषणका विषयमा जानकारी प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रमका क्रममा प्रशिक्षकहरू सागर गौतम, सुमन न्यौपाने, केशव दाहाल, दिपक खड्का लगायतका सहजकर्ताहरुले खाद्य पदार्थ छनोट गर्दा ध्यान दिनुपर्ने पक्ष, खुला तथा असुरक्षित खाद्य पदार्थको प्रयोगबाट हुन सक्ने जोखिम, पोषणयुक्त भोजनको महत्व, व्यक्तिगत सरसफाइ तथा विद्यालय र घरपरिवारमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा उपायबारे जानकारी दिनु भएको थियो ।
विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले कार्यक्रमलाई उपयोगी र प्रभावकारी भएको बताएका छन् । उनीहरूले दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयमा प्राप्त जानकारीले स्वस्थ जीवनशैली अपनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
दमक नगरपालिकाले आगामी दिनमा पनि खाद्य सुरक्षा, पोषण तथा जनस्वास्थ्यसँग सम्बन्धित यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । नगरपालिकाका अनुसार खाद्य सुरक्षाबारे समुदायस्तरमै चेतना विस्तार गर्ने लक्ष्यका साथ विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको हो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



