न्यूनतम सेवा मापदण्ड कार्यान्वयन, सेवा गुणस्तर सुधार र नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माणमा जोड

Share

कमल/ कमल गाउँपालिका वडा नम्बर ५ स्थित सामुदायिक स्वास्थ्य इकाई (सिम्ले) मा स्वास्थ्य सेवा सुदृढीकरण, गुणस्तरीय सेवा प्रवाह तथा नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माण गर्ने उद्देश्यले अभिमुखीकरण, समीक्षा तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहको आधारभूत स्वास्थ्य सेवालाई थप व्यवस्थित, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउने लक्ष्यसहित आयोजित कार्यक्रमले स्वास्थ्य संस्थाको संस्थागत क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
स्वास्थ्य संस्थामा लागू गरिएको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) को प्रभावकारी कार्यान्वयन, सेवा मूल्याङ्कन तथा आगामी सुधार योजनालाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती, उपलब्धि तथा सुधारका सम्भावित पक्षहरूमाथि विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रम कमल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लाल बहादुर विष्ट (एल.बी. विष्ट) को अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष विष्टले स्वास्थ्य संस्था केवल उपचार केन्द्र मात्र नभई समुदायको भरोसाको आधार बन्नुपर्ने धारणा व्यक्त गर्दै स्थानीय सरकार नागरिकको स्वास्थ्य अधिकारप्रति संवेदनशील रहेको बताउनुभयो। उहाँले स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा सुनिश्चित गर्न आवश्यक सहयोग, समन्वय र व्यवस्थापनमा निरन्तर प्रतिबद्धता रहने उल्लेख गर्नुभयो।
कार्यक्रम सञ्चालन सी.अ.हे.व अधिकृत तथा सामुदायिक स्वास्थ्य इकाई कमल–५ सिम्लेका प्रमुख डम्बर बहादुर श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल, जनस्वास्थ्य निरीक्षक देवराज पराजुली, आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल–५ का प्रमुख बिमला राई, अ.न.मि. अनिता अधिकारी, सामुदायिक स्वास्थ्य इकाई सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा अघिल्लो आर्थिक वर्षमा स्वास्थ्य संस्थाले हासिल गरेको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन समीक्षा गरिनुका साथै चालु आर्थिक वर्षको प्रगति विवरण, सेवा सूचक, सेवा उपलब्धता, व्यवस्थापन पक्ष तथा सेवा प्रभावकारिताको तुलनात्मक विश्लेषण प्रस्तुत गरिएको थियो।
छलफलका क्रममा औषधि व्यवस्थापन, अभिलेखीकरण प्रणाली, सरसफाइ, सेवाग्राहीमैत्री व्यवहार, मातृ तथा बाल स्वास्थ्य सेवा, नियमित स्वास्थ्य परामर्श तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि जस्ता विषयलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना तयार गरिएको बताइएको छ।
वडा अध्यक्ष तथा सञ्चालन समितिका अध्यक्ष लाल बहादुर विष्टले न्यूनतम सेवा मापदण्डलाई स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने महत्वपूर्ण माध्यमको रूपमा व्याख्या गर्दै स्वास्थ्य संस्थाको भौतिक, व्यवस्थापकीय तथा जनशक्ति उत्तरदायित्वलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी कार्यपालिका सदस्य तथा सञ्चालन समितिकी उपाध्यक्ष चन्द्रकला सुब्बाले स्वास्थ्य संस्थाको समग्र सेवा मूल्याङ्कन केवल औपचारिक प्रक्रिया नभई वास्तविक सेवा सुधारको आधार भएको बताउँदै नियमित समीक्षा, प्रभावकारी अनुगमन र कार्ययोजना कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
अन्य सहभागीहरूले समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार, रोगको समयमै पहिचान, रोकथाम तथा जनस्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सामूहिक सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमबाट स्वास्थ्य संस्थाको सेवा गुणस्तर अभिवृद्धि, व्यवस्थापन प्रणाली सुदृढीकरण, स्वास्थ्यकर्मीको कार्यसम्पादन सुधार तथा सेवाग्राहीको विश्वास अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ। साथै स्थानीय तहको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी, उत्तरदायी र सुदृढ बनाउँदै समुदायमा स्वास्थ्य सचेतना विस्तार गर्ने दिशामा कार्यक्रम फलदायी बन्ने अपेक्षा गरिएको छ।

ताजा समाचार