झापा । कमल गाउँपालिका वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र पाडाजुङ्गीमा स्वास्थ्य सेवा सुदृढीकरणसँग सम्बन्धित महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले न्यूनतम सेवा मापदण्ड अभिमुखीकरण, समीक्षा तथा कार्ययोजना निर्माण कार्यक्रम आयोजना गरिएको हो।
कमल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लाल बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले ब्यानर वाचन गर्दै औपचारिक उद्घाटन गर्नुभयो।
कार्यक्रम सञ्चालन सामुदायिक स्वास्थ्य इकाइ कमल–५ सिम्लेका प्रमुख डम्बर बहादुर श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रका व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल, जनस्वास्थ्य निरीक्षक देवराज पराजुली, अमृत बहादुर सुब्बा, फेयरमेडकी निकिता श्रेष्ठ, अन्य स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
अभिमुखीकरण तथा समीक्षा कार्यक्रममा अघिल्लो आर्थिक वर्षको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनको समीक्षा गर्दै चालु आर्थिक वर्षको प्रगति, सूचक तथा सेवा मापनको तुलना गरिएको थियो। कार्यक्रममा स्वास्थ्य संस्थाले सुधार गर्नुपर्ने पक्ष, सेवाको गुणस्तर अभिवृद्धि, व्यवस्थापन प्रणाली सुदृढीकरण तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।
यसै अवसरमा वडा नम्बर ५ भित्रका १० जना विपन्न सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरिएको छ। वडा अध्यक्ष लाल बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घ्यू, अण्डा, आयोडिनयुक्त नुन, दाल, चामल तथा खाने तेल लगायतका पोषणयुक्त सामग्री हस्तान्तरण गरिएको थियो।
वडा अध्यक्ष विष्टले गाउँपालिकाले सञ्चालन गरिरहेका सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमबाट विशेषगरी विपन्न, अल्पसंख्यक तथा जोखिममा रहेका समुदायले प्रत्यक्ष लाभ लिनुपर्ने बताउँदै सुत्केरी महिलाको स्वास्थ्य तथा पोषण सुधारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमले स्वास्थ्य संस्थाको सेवा गुणस्तर सुधारसँगै मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



