विराटनगर । एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा विराटनगरस्थित श्री आदर्श माध्यमिक विद्यालयमा आगामी २०८३ साल जेठ २ र ३ गते मेला सञ्चालन हुने आयोजकले जनाएको छ ।
“सीप आजको आवश्यकता, भविष्यको सुनिश्चितता” भन्ने मूल नारासहित आयोजना हुने उक्त मेलाले विशेषगरी एसईई उत्तीर्ण विद्यार्थीहरूलाई भविष्यको अध्ययन, सीप विकास तथा करिअर छनोटमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
मेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका स्थानीय तहअन्तर्गतका विद्यालयहरूबाट विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरूको सहभागिता रहनेछ । कार्यक्रममा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि, आतिथ्य सेवा लगायत विभिन्न क्षेत्रका प्रत्यक्ष सीप प्रदर्शनी, ४० वटा शैक्षिक स्टल, करिअर परामर्श, छात्रवृत्ति, भर्ना प्रक्रिया, रोजगारी तथा उद्यमशीलतासम्बन्धी जानकारी प्रदान गरिनेछ ।
विद्यार्थीहरूले विभिन्न शिक्षालय, प्रशिक्षक तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्नो रुचिअनुसारको विषय छनोट गर्न सक्ने आयोजकको विश्वास छ ।
सीटीईभीटी कोशी प्रदेश कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत शिशिर सुब्बाका अनुसार प्रतिस्पर्धात्मक समयमा व्यवहारिक सीपसहितको शिक्षा अपरिहार्य भएकाले विद्यार्थीहरूलाई सही समयमा सही मार्गदर्शन दिन मेला प्रभावकारी बन्नेछ ।
मेलाको औपचारिक उद्घाटन जेठ २ गते बिहान ९ बजे हुनेछ । दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा हजारौँ विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
एसईई दिएका विद्यार्थीहरूका लागि विराटनगरमा वृहत् प्राविधिक तथा व्यावसायिक शिक्षा मेला जेठ २ र ३ गते
Share
