झापा/कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भूमिहीन तथा सुकुम्बासी नागरिकलाई लक्षित गर्दै कमल क्षेत्रमा तत्काल डोजर नचल्ने स्पष्ट पारेका छन्। विगतका भूमि आयोगहरूको प्रभावकारी काम नहुँदा धेरै वास्तविक भूमिहीन नागरिक लालपुर्जाबाट वञ्चित भएको उल्लेख गर्दै उनले पहुँचवालाको प्रभावले वास्तविक हकदार अन्यायमा परेको बताए।
संघीय सरकारको पछिल्लो कदमबारे स्पष्ट जानकारी नहुँदा स्थानीयवासीमा त्रास फैलिएको भन्दै गाउँपालिकाले यसलाई गम्भीर रूपमा लिएको जनाएको छ। अध्यक्ष राईका अनुसार गाउँपालिकाले ७ दिनभित्र सबै वडाबाट वास्तविक सुकुम्बासी तथा भूमिहीनको तथ्यांक संकलन गर्न निर्देशन दिइसकेको छ। प्राप्त विवरणका आधारमा सम्बन्धित निकायमार्फत वास्तविक हकदारको पहिचान गरिनेछ।
उनले संघीय सरकारले छिटो लालपुर्जा वितरण प्रक्रिया अघि बढाओस् भन्ने अपेक्षा व्यक्त गर्दै स्थानीय सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाए। साथै, यथार्थ तथ्यांक संकलन र प्रक्रिया पूरा नभएसम्म कमलबासीले नआत्तिन आग्रह गर्दै कमल गाउँपालिकाभित्र कतै पनि डोजर नचल्ने दोहोर्याए।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



