झापा । अखिल नेपाल महिला संघ झापाले सामाजिक सञ्जालमा महिलामाथि भइरहेको चरित्रहत्या, अपमानजनक अभिव्यक्ति तथा डिजिटल आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा विगत ७५ वर्षदेखि नेपाली महिलाको आर्थिक, सामाजिक र राजनीतिक स्वतन्त्रताका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत महिलामाथि अश्लील, अपमानजनक टिप्पणी गर्ने, चरित्रहत्या गर्ने तथा मानसिक तनाव सिर्जना गर्ने गतिविधि बढ्दै गएको बताइएको छ।
विशेषगरी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि केही व्यक्ति तथा समूहले राजनीतिक पूर्वाग्रहका आधारमा महिलालाई लक्षित गरी दुष्प्रचार, कृत्रिम सामग्री निर्माण र डिजिटल आक्रमण गर्ने प्रवृत्ति बढेको संघको भनाइ छ। यस्ता गतिविधिले समाजको सांस्कृतिक मूल्य र मान्यतामा नकारात्मक असर पारिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस विज्ञप्तीमा गत फाल्गुण २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणामबाट उत्साहित भएका केही व्यक्ति र समूहहरुबाट सामाजिक सञ्जालमार्फत चरित्र हत्या कायम गरी त्यसको दुरुपयोग गर्दै हाम्रो समाजको सांस्कृतिक मूल्य मान्यता र परम्परा विरोधी गतिविधिहरु भइरहेको उल्लेख छ । त्यस्तै स्त्री जातिको अपमान हुनेगरी पशु तथा पुरुषको अवतार जोडाई गरी स्त्री चरित्रमाथि गम्भीर प्रहार गर्ने, महिलालाई निन्दा गर्ने तथा नेकपा एमालेका अध्यक्ष केपि ओलीसँग राजनीतिक पूर्वाग्रह र प्रतिशोध लिन आपराधिक अभिप्राय पूरा गर्ने उद्देश्यले राजनीतिक आस्था व्यक्त गर्ने महिलालाई सिन्दूर दान गरेको कृत्रिम चित्र बनाई पोस्ट गर्ने, सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न महिलाहरुको योग्यता र क्षमतामाथि लक्षित गरी अश्लील, अशोभनीय तथा अपमानजनक टिप्पणी गर्ने, भिडियो बनाई सामाजिक सञ्जालमा प्रवाह गरी डिजिटल आक्रमण गर्दै महिलाको अस्मिता माथि प्रहार गर्ने, मानसिक तनाव सिर्जना गर्ने गरी क्रियाकलाप गर्दै महिलाहरुको बलात्कार गरी हत्या गर्ने जस्ता घटनालाई प्रवर्द्धन गर्ने मनोवृत्ति समेत बढ्दै गएको कार्य प्रति हाम्रो संगठन अखिल नेपाल महिला संघको गम्भीर ध्यान आकर्षण भएको छ।
संघले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्दै महिलाको अस्मितामाथि प्रहार गर्ने कार्यको घोर निन्दा गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न राज्य पक्षसँग कडा कदम चाल्न माग गरेको छ। साथै, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज तथा सरोकारवाला सबै पक्षलाई यस्ता समाजविरोधी क्रियाकलाप विरुद्ध एकजुट भएर सामना गर्न अपिल गरेको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



