झापा /कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन विराटनगरमा सुरू भएको छ । दुई दिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।
सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलनबाट कोशी प्रदेशको समृद्धिमा थोरै भएपनि इँटा थपिने विश्वास व्यक्त गर्नुभयो ।अहिले सबै हिसाबले ल एन्ड अर्डर ठिक भएको भन्दै ढुक्क भएर लगानी गर्न आव्हान गर्दै ओलीले अव चाँडै कोशीबाट गंगासम्म जलमार्ग पनि सञ्चालन हुने बताउनुभयो ।
उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीकर्ता र निजी क्षेत्रको वारेश बन्न कोशी प्रदेश सरकार तयार रहेको विश्वास दिलाउनुभयो ।सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका सयौं लगानीकर्ता विराटनगर आइपुगेका छन् । गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको पनि बाक्लो जमघट छ । सम्मेलनमा मधेश र कर्णाली प्रदेशका मुख्यमन्त्रीको पनि उपस्थिति छ ।
लगानी सम्मेलनमा प्रदेश सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजना सोकेसमा राखेको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आईटी र फोहोर प्रशोधन लगायतका क्षेत्रका आयोजना समेटिएको लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताउनुभएको छ ।सम्मेलनमा २ दर्जनभन्दा बढी परियोजनामा सम्झौता नै हुने लगानी प्राधिकरणको दाबी छ ।सम्मेलनमा पर्यटनसम्बन्धी १५ वटा परियोजना राखिएको छ । कृषिका ९, पूर्वाधारतर्फ १४, उद्योगहरू ९ वटा, ऊर्जा क्षेत्रका ९ वटा योजनाहरू राखिएको छ । लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले नीतिगत प्रतिविद्धतासमेत गरेको छ ।
प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, पूर्वाधार र जलस्रोतसँग सम्बन्धित सम्भाव्य आयोजना वा परियोजनाको सूची तयार गरी तिनको प्राविधिक एवं आर्थिक अवस्थाको विश्लेषणसहित लगानीकर्तासमक्ष पेश गरिनेछ । साथै, संघीय सरकार, स्थानीय तह र लगानीकर्ताबाट प्राप्त आयोजनाको समेत सम्भाव्यता अध्ययन गरी लगानीका लागि निम्त्याइने वताइएको छ ।

Share