झापा /नेकपा एमालेले युवालाई ‘जनताले जितेको दिन’ को स्मरण गराउने उद्देश्यले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते बिहीबार ‘यूथ सेलिब्रेशन’ को आयोजना गर्दैछ। लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेबाट यूथ सेलिब्रेशन मनाउँदैछ।
सो कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू काठमाडौंमा भेला हुने क्रम जारी छ। कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले बताउनु भयो। कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उहाँले जानकारी दिनुभयो।
कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्ने तयारी छ। बाँकी सबै वक्ताहरू युवा हुने छन् । विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रमको सहजीकरण गरिरहनुभएका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने भएको छ ।
आजको कार्यक्रम नितान्त फरक कार्यक्रम हुने नेता ढुङ्गेलले बताउनुभयो । कार्यक्रमबाट निस्किँदा सहभागीले नयाँ सन्देश लिएर फर्कने उहाँले दाबी गर्नुभयो ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



