दमक — स्ववियू निर्वाचन नजिकिँदै गर्दा झापाको दमक बहुमुखी क्याम्पसमा दल दर्ता विवादित बनेको छ। क्याम्पस निर्वाचन समितिले दल दर्ताका लागि तोकेको समय सीमा सकिए पनि कुनै पनि विद्यार्थी संगठन दर्ता हुन नसकेपछि अन्योल सिर्जना भएको हो।
पूर्वी नेपालको एक प्रमुख क्याम्पसका रूपमा परिचित दमक बहुमुखी क्याम्पसमा ३५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। अघिल्ला निर्वाचनहरूमा विद्यार्थी संगठनहरू तालमेल गरेर प्रतिस्पर्धा गर्दै आए पनि यस पटक दल दर्ताकै विषय विवादित बनेपछि विद्यार्थी संगठनहरू असन्तुष्ट देखिएका छन्।
विद्यार्थी संगठनहरूले निर्वाचन समितिमाथि निष्पक्ष रूपमा काम नगरेको आरोप लगाएका छन्। अनेरास्ववियु क्याम्पस इकाइ समितिका सचिव निसम अधिकारीले अल्फावेटिक आधारमा दल दर्ता गराउँदा विवाद टार्न सकिने सुझाव दिएका छन्। अखिल क्रान्तिकारीका विद्यार्थी नेता लक्ष्मी नेपालले अघिल्ला निर्वाचनहरूमा वर्णानुक्रमअनुसार दल दर्ता गर्ने चलन रहेको भन्दै यस पटक पनि सोही आधार अपनाइनु पर्ने बताए।
नेपाल विद्यार्थी संघका क्याम्पस इकाइ सभापति सुनिल हताचु राईले अघिल्ला निर्वाचनको मतसंख्या आधार मानेर ठूला संगठनलाई पहिलो स्थान दिनुपर्ने धारणा राखेका छन्। राप्रवि संघका क्याम्पस इकाइ संयोजक रविन ढकालले निर्वाचन समितिले ठोस निर्णय लिन नसक्दा अन्योल बढेको बताए।
निर्वाचन समितिका संयोजक टंक भट्टराईले विद्यार्थी संगठनहरू एकै पटक दर्ताका लागि आएकाले विवाद उत्पन्न भएको स्वीकारे। उनले समस्या समाधानका लागि फागुन २० गते (भोली) दिउँसो १ बजेसम्मको समय थपिएको जानकारी गराए।
स्ववियू निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन, २५ गते अन्तिम मतदाता सूची प्रकाशन, फागुन २७ गते मनोनयन दर्ता, चैत ५ गते मतदान हुने कार्यतालिका रहेको छ।
दमक बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन विवाद रहित बनाउन विद्यार्थी संगठनहरू र निर्वाचन समितिबीच सहमति खोजिने अपेक्षा गरिएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



