चिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो

Share

झापा ।विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो ।
पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किनेक्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर बिकले बताए । कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेका उनको भनाइ छ । नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुआतमा सामान्य हिमपात भएकाले चिसो बढेको उनको अनुमान छ ।
सगरमाथा क्षेत्रमा वर्षको दुई सिजनलाई प्रमुख पर्यटकीय समय मानिन्छ । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक र मङ्सिर मध्यसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।
सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । यो क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताईन ।

ताजा समाचार