झापा/ हिन्दु धर्मावलम्बीले आज नागको पूजा गरेर नागपञ्चमी मनाउँदै छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइने गरिन्छ।
नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने धार्मिक विश्वास रहँदै आएको छ। यस्तै नागको पूजा गर्दा अग्नी, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वाससमेत रहेको छ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिने र नाग रिसाए भने पानीको अभाव हुने धार्मिक मान्यता रहेको छ। त्यसैले नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ।
उदयकालको पञ्चमी तिथि भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले बताए।
काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



